धरान: अवैधरुपमा सालको रुख काटिएको घटनामा सब डिभिजन वन कार्यालय विष्णुपादुकाले ४ जनालाई पक्राउ गरेको छ ।
भालढुंगा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बुद्धिमान तामांगले किटानी जाहेरी दिएका ४ जनालाई अनुसन्धानको लागि हिजो बिहिबार वन कार्यालयले पक्राउ गरेको हो । 'सहायक वन अधिकृत एवं अनुसन्धान अधिकृत राजेन्द्रप्रसाद यादवले रुख काट्ने ४ जनालाई पक्राउ गरिएको पुष्टि गरे । उनले भने,'अनुसन्धानको लागि हिजो पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान–८ का शेरबहादुर तामाङ, धरान–१९ का गजेन्द्र लिम्बू, रामबहादुर तामाङ र रामप्रसाद मगर रहेका छन् । उनीहरुलाई धरानका मेयर तिलक राईले ज्याला दिएर सालको रुख काट्न लगाएकोआरोप छ । वन समुहका अध्यक्ष तामांगले ४ जनालाई किटानी जाहेरी दिएका थिए भने मेयर राईसँगै वन समुहका कोषाध्यक्ष भीम बस्नेतविरुद्ध पनि जाहेरी दिएका थिए । 'अनुसन्धान अधिकृत यादवले पक्राउ परेकाहरुलाई वयान लिने काम भइरहेको बताए । अनुसन्धान तीब्ररुपमा बढीरहेको छ, वयान लिने काम भइरहेको छ,'उनले भने ।