धरान: धरान २० भालढुंगा वन क्षेत्रमा अवैरुपमा सालको रुख कटान प्रकरणमा पक्राउ परेका ४ जना श्रमिकहरु वयान दिएपछि छुटेका छन् ।

सब डिभिजन वन कार्यालय विष्णुपादुकाले उनीहरुलाई वयान लिएर आज जनप्रतिनिधिको रोहबरमा छोडेको हो । वन कार्यालयले रुख काट्न लगिएका धरान ८ का शेरबहादुर तामाङ, धरान १९ का गजेन्द्र लिम्बु, रामबहादुर तामाङ र रामप्रसाद मगरलाई हिजो पक्राउ गरेको थियो । कोरोना संक्रमणको जोखिमको कारण उनीहरुलाई वयान लिएर वन कार्यालयले वडा नं १९ का अध्यक्ष पुर्ण लिम्बुको जमानीमा छोडेको हो । ‘हामीसँग राख्ने ठाउँ पनि छैन, तरहरामा पनि एउटै मात्र कोठा छ । अहिले कोरोना संक्रमणको पनि जोखिम छ,’सब डिभिजन प्रमुख राजेन्द्रप्रसाद यादवले भने,‘बोलाएको वखत उपस्थित हुने गरि अध्यक्ष ज्युको जमानीमा छोडेका छौं ।’

'२ जना मात्र गएर काटेको हो'

पक्राउ परेका ४ जना मध्ये २ जनाले मात्र आफुहरु रुख काट्न गएको वयान दिएका छन् । पक्राउ परेकामध्ये गजेन्द्र लिम्बु र शेरबहादुर तामाङले मात्र आफुहरु रुख काट्न गएको वयान दिएका छन् । पक्राउ परेका रामबहादुर तामाङ र रामप्रसाद मगर भने रुख काट्न नगएको उनीहरुले नै वताएका छन् । गजेन्द्र लिम्बुले भने,‘उनीहरुको नाम कसरी हाल्यो अचम्म परेको छुँ, म र शेरबहादुर दाई मात्र गएर काटेको हो ।’

'वन समुहको कोषाध्यक्षले काट्न बोलाएको हो'

रुख काट्न गएका २ जनाले वन समुहका पदाधिकारीले नै बोलाए पछि आफुहरु रुख काट्न गएको वयान दिएका छन् । सब डिभिजन कार्यालयमा उनीहरुले मेयर तिलक राईको नाम नै लिएनन् । उनीहरुले वन समुहका कोषाध्यक्ष भीम बस्नेतले बोलाएकोले रुख काट्न गएको वयान दिएका छन् ।

रुख काट्न गएका गजेन्द्र लिम्बुका अनुसार शनिबार रुख काट्न जानु २ दिनअघि समुहका कोषाध्यक्ष भीम बस्नेत घरमा नै बोलाउन आएका थिए । ‘समुहको कोषाध्यक्षले बोलाएर गएको हो । २ दिन अघि घरमा आएको थियो,’उनले भने,‘समुहले नै भनेर पो गएको हो त ।’ लिम्बुले आफुलाई मेयर तिलक राईले बोलाएको भन्ने हल्ला पनि सत्य नभएको दाबी गरे । ‘मेयरसँग त भोट माग्दै हिडेको बेला मात्र भेट भएको हो, मेयरले लगेको होइन,’उनले भने ।