धरान: धरान उपमहानगरपालिका वडा नं १ मा १० बर्षीया नाबालिकाले आत्हत्या गरेकी छिन् ।

समिर साहको घरमा विगत २ बर्षदेखि बस्दै आएकी कविता उरावले झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार घटनाबारे हिजो (शनिबार) साँझ सवा ६ बजे प्रहरीलाई खबर भएको थियो ।

घरका सबै मानिसहरु बजार गएको बेला यो घटना भएको पाइएको प्रहरीले जनाएको छ । घरका मानिसहरु बजारबाट फर्कदा मुलढोकासहित सबै बन्द गरेर माथिल्लो कोठाको झ्यालको रडमा ती बालिका झुण्डिएको डिएसपी बस्नेतले जानकारी दिए । ‘घरका मान्छेहरु बजार गएको रहेछ, बालिका घरमा एक्लै भएको बेला ढोका बन्द गरेर झ्यालको रडमा झुण्डिएको रहेछ,’डिएसपी बस्नेतले भने ।

मृतकको घर दुहबी नगरपालिका २ मा हो । उनलाई २ बर्षदेखि समिर साहले घरमा राखेका थिए । घरेलु कामदारकोरुपमा राखिएका कविता एक बोर्डिङ स्कुलमा पनि पढ्दै थिइन् । मृतकको आमा बुबा धरान आएर सर्जमिन मुचुल्का गरिएको प्रहरीले जनाएको छ । मृतकको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको छ ।