धरान: आन्दोलनमा उत्रिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटी र पदाधिकारीबीच एक चरणको वार्ता भएको छ ।
वार्ता सकरात्मक भएपनि आन्दोलन भने नरोकिने सोसाइटीले प्रष्ट पारेको छ । सोसाइटीका उपाध्यक्ष एवं प्रवक्ता पदम नेपालीका अनुसार उपकुलपति डा.ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक डा.गौरीशंकर साहसँग वार्ता भएको थियो । वार्तामा जेआरहरुको माग पुरा गर्न यसअघि नै अस्पताल निर्देशक संयोजक रहेको समितिलाई पुर्णअधिकार दिएकोले तत्काल समाधान गर्न निर्देशन दिएका थिए । ‘अस्पताल निर्देशकले समाधानको खाका लिएर आउछु भन्नुभएको छ । हामीले माग सम्बोधन हुदै, कार्यान्वयन तहमा नगएसम्म आन्दोलन रोक्दैनौं भनेका छौं,’ नेपालीले भने ।
अहिले पनि जेआरहरुले उपकुलपति कार्यालयअघि धर्ना दिइरहेका छन् । यसअघि अस्पताल निर्देशक संयोजक रहेको समितिले जेआरहरुको मागबारे छलफल गरेर सहमति गरेको थियो । उक्त सहमतिमा जेआर प्रतिनिधिहरुको पनि हस्ताक्षर छ । तर, सहमति कार्यान्वयनमा नआएपछि पुनः उनीहरु आन्दोलनमा उत्रिएका हुन् । जेआरहरुले कोभिडमा खटिएकाहरुलाई गुणस्तरीय खाना, क्वारेन्टिनको सुधार, विरामीको उपचारलाई गुणस्तरीय बनाउनुपर्नेलगायतको मागहरु राखेका छन् ।