विराटनगर: प्रदेश १ लाई आगामी ५ बर्षभित्रमा बालविवाहमुक्त प्रदेश बनाईने भएको छ ।

सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश निर्माणका लागि सरकारले तयारी शुरु गरिसकेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए । राष्ट्रिय बालदिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले तयार गरेको बालबालिकाको स्थिति प्रतिवेदन आज सार्वजनिक गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । सबै पक्षको सहभागितामा उनले बालविवाहमुक्त प्रदेश निर्माण गरिने बताए । सामाजिक संघसंस्था, सरोकारवाला व्यक्तिहरु सवैको सहभागिता आवश्यक रहेको मुख्यमन्त्री राईले बताए ।

sher

कार्यक्रममा भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानाले बालबालिकाको अवस्था पहिलेको तुलनामा सुधार भएर गएको बताए । उनले बालविवाह र बालश्रममा सुधार हुन नसक्नु दुःखद भएको बताए । सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सडकमा बालबालिका बस्नुपर्ने अवस्थाको अन्त्य गरिने बताइन् । सडक बालबालिकालाई उद्दार गर्ने काम भईरहेको राज्यमन्त्री गजमेरले बताइन् । उनले हालसम्म प्रदेश १ मा ५३ जना सडक बालबालिकाको उद्दार भएको बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार प्रदेश १ मा ५१ दशमलव ८ प्रतिशत बालिका र २१ दशमलव ७ प्रतिशत बालकहरुको २० वर्षभन्दा कम उमेरमा विवाह हुने गरेको बताए । उनले प्रदेश १ मा ३७ दशमलव ४ प्रतिशत बालबालिका श्रममा रहेको बताए ।