धरान: इमर्जेन्सी र कोभिडबाहेक सम्पुर्ण काम छोडेर आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेसिडेन्ट र पदाधिकारीहरुबीच सोमबार २ चरणमा वार्ता भयो ।
वार्तामा सकरात्मक मात्र होइन, रेसिडेन्टहरुको कतिपय मागहरु पुरा हुने सहमति पनि बन्यो । तर, अझै कतिपय मागहरुमा ठोस सहमति हुन बाँकी भएकोले आन्दोलनको कार्यक्रम यथावत नै भएको जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले जनाएको छ । सोमबार साँझ विज्ञप्ती जारी गर्दै सोसाइटीले विगतमा भएको सहमतिको कार्यान्वयन पक्ष फितलो देखिएकोले वस्तुगत कार्यान्वयन र परिणाम नआएसम्म आन्दोलन जारी नै रहने जनाएको छ ।
‘विगतमा भएका सहमति कार्यान्वयन पक्ष कमजोर देखिएको हुँदा ती सहमतिको वस्तुगत कार्यान्वयन र परिणाम नआउन्जेल इमर्जेन्सी र कोभिड बाहेकका अन्य सेवा प्रवाहमा सहभागी नहुने लगायतका आन्दोलन कार्यक्रमहरु यथावत रहेको जानकारी गराउन चाहन्छौं,’विज्ञप्तीमा भनिएको छ । यसअघि अस्पताल निर्देशकको संयोजकत्वमा एक समिति गठन गरिएको थियो । उक्त समितिले जुनियर रेडिसेन्टहरुको माग सम्बोधन गर्दै एक सहमति भए पनि कार्यान्वयनमा ढिलाई भएपछि जेआरहरु पुनः आन्दोलित भएका हुन् ।