धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हालसम्म ५० हजार भन्दा बढी पिसिआर परीक्षण भएको छ ।
प्रतिष्ठानमा गत चैत १८ गतेदेखि पिसिआर परीक्षणको ल्याब सञ्चालनमा आएको थियो । त्यसयता हिजो भदौ २९ गतेसम्म कुल ५० हजार ७६९ पिसिआर परीक्षण गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार हिजो सोमबार मात्र एकै दिन १ हजार ८६ पिसिआर परीक्षण गरिएको थियो । कुल पिसिआर मध्ये ४८ हजार १२० पिसिआर नेगेटिभ आएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए । उनका अनुसार २ हजार १४३ रिपोर्ट मात्र पोजेटिभ आएको छ ।
प्रतिष्ठानका माइक्रोवायोलोजी विभागका डा.नारायणराज भट्टराईका अनुसार अहिले दैनिक एक हजारदेखि १५ सयसम्म पनि पिसिआर परीक्षण भइरहेको छ । ‘प्रदेश १ का सबै जिल्लाको स्वाब परीक्षण भइरहेको छ, त्यति मात्र होइन, प्रदेश २ को सिराह, सप्तरी, धनुषालगायतको जिल्लाबाट पनि स्वाब परीक्षणको लागि यहाँ आउँछ,’डा.भट्टराईले भने ।
काठमाण्डौं रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पछि धेरै स्वाब परीक्षण गर्ने प्रयोगशाला वीपी प्रतिष्ठानको हो । कोरोना संक्रमणको दर बढ्दै गएपछि स्वाब परीक्षणको दायरा मोफसलमा पनि विस्तार गर्नुपर्ने आवाज उठेपछि काठमाण्डौंबाहिर पहिलो पटक पिसिआर परीक्षणको ल्याब प्रतिष्ठानमा सञ्चालन गरिएको थियो । यो ल्याब सञ्चालनमा आएपछि प्रदेश १ लाई मात्र नभै प्रदेश २ का विभिन्न जिल्लालाई पनि संक्रमितको पहिचान, रोग नियन्त्रण तथा उपचारमा ठुलो योगदान पुगेको छ ।