धरान: विश्वभरका इलामेलीहरुको भर्चुअल भेला आगामी असोज ३ शनिबार (१९ सेप्टेम्बर २०२०) साझ ५:३० बजे हुने भएको छ।

जिल्ला समन्वय समिति इलामको संयोजनमा जुम एपमार्फत विश्व इलामेली भेला (ग्लोबल इलामेली मिट २०२०) को आयोजना हुन लागेको हो । सम्मेलनको तयारीमा इलाम विकास समाज, काठमाडौं, इलामेली समाज प्रदेश न. १ र इलामसँग सम्बद्ध विश्वभरका संघसंस्थाहरु जुटेका छन्। भेलाको संयोजककोरुपमा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल रहेका छन् ।

भेलाको लागि संयोजक बरालसँगै सदस्यहरुमा राधेश्याम लेकाली (अध्यक्ष, इलाम विकास समाज, काठमाडौं), कृष्ण शाह (अध्यक्ष, इलामेली समाज प्रदेश न. १ इटहरी) रहेका छन् । यसैगरी, मोहनकुमार सुवेदी (उपाध्यक्ष, इलामेली समाज प्रदेश न. १), प्रदीप घिमिरे (महासचिव, इलाम विकास समाज, काठमाडौं), ईश्वर श्रेष्ठ (कोषाध्यक्ष, इलाम विकास समाज, काठमाडौं), अर्जुन श्रेष्ठ (सचिव, इलामेली समाज प्रदेश न. १), सरस्वती कर्माचार्य (सदस्य, इलाम विकास समाज, काठमाडौं), यशोदा कायस्थ (अध्यक्ष, इलामेली समाज, सुनसरी), तिलत्तोमा खत्री (अध्यक्ष, इलाम झापा मैत्री समाज विर्तामोड नगर) सदस्य रहेका छन् भने सदस्य सचिवमा अर्जुन भट्टराई (सचिव, इलाम विकास समाज, काठमाडौं) रहेका छन् ।

संयोजक वरालले देश परदेशमा रहेका सम्पुर्ण इलामेलीलाई असोज ३ गते नेपाली समय अनुसार ५ बजे जुम एप मार्फत भर्चुअल बिधिबाट जोडीन पनि आग्रह गरेका छन् । भेलाले विश्वभर छरिएर रहेका इलामेलीहरुलाई एकिकृत गर्दै एकआपसमा भाइचारा कायम गर्ने उद्देश्य राखिएको छ । यसैगरि ज्ञान, सीप र क्षमतामा अभिबृद्धि गरी स्रोतको परिचालन गर्दै समुन्नत र समृद्ध इलामको निर्माण गर्ने र कोभिड–१९ का कारण इलाम र इलाम बाहिर रहेका इलामेलीहरुमा कठिनाई भएमा आपसी सरसहयोग आदानप्रदान गर्ने उद्देश्य राखिएको छ ।

इलाम बिकास समाजका अध्यक्ष राधेश्याम लेकालीका अनुसार भेलाकै क्रममा विश्वभरका इलामेली संघ, संस्थाहरु तथा इलामेलीहरुको तथ्यांक संकलन गरी व्यवस्थित पनि गरिनेछ । भेलामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व सभामुखहरु के.वी. गुरुङ र सुवासचन्द्र नेम्वाङसहित मन्त्री, सांसदहरु, राजनीति दलका प्रतिनिधिहरु, इलामका सबै स्थानीय तहहरु, विश्वभर रहेका इलामेली समाज र विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति हुने इलामेली समाज प्रदेश न.१ का अध्यक्ष कृष्ण शाहले जानकारी दिए ।