बिराटनगर: सुनसरी र उदयपुरमा पानीमा डुबेर तथा खोलाले बगाएर १ बालिकासहित २ जनाको मृत्यु भएको छ ।
हिजो बुधवार दिउँसो ३ बजे घर नजिकै जमेको पानीमा साथीहरुसंगै पौडी खेल्न गएकी सुनसरीको दुहवी नगरपालिका ८ की १० बर्षीया नन्दनी ऋषिदेवको मृत्यु भएको हो । पौडी खेल्ने क्रममा डुबेर बेहोस अवस्थामा साथीहरुले देखेपछि तत्काल उद्दार गरेर अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका ३ का ५५ बर्षीय पदम मगरको धपड खोलाले बगाएर मृत्यु भएको छ । बुधवार साँझ पौने ७ बजेको समयमा घरबाट बिरेन्द्रबजार तर्फ जाँदै गर्दा धपड खोला तर्ने क्रममा अचानक खोलाको बाढीले बगाएर मगर बेपत्ता भएका थिए । उनलाई खोजतलास गर्ने क्रममा आज बिहान साँढे ९ बजे बगाएको स्थान भन्दा केही तल मृत अवस्थामा फेला पारिएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।