मोरङः मोरङको बेलवारी नगरपालिकाले नगर क्षेत्रका अतिविपन्न परिवारलाई घर उपहार अभियान शुरु गरेको छ ।
अत्यन्त न्यून आम्दानी भएका, दलित, एकल महिला तथा अल्पसँख्यक समुदायका परिवारका लागि जनता आवास कार्यक्रम मार्फत घर बनाइ दिन थालेको हो । हालसम्म विभिन्न वडामा १ सय १ घर निर्माण भएका नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले जानकारी दिएका छन् । दैनिक ज्यालादारी गरेर परिवार चलाउँदै आएका त्यस्ता परिवार वर्षौ देखि चुँदो झरी र हिउँदको सिरेटोमा बाँसको टाटी बनाएर कष्टप्रद रुपमा बस्दै आएका थिए । नगरले अति आवश्यक परिवारको पहिचान गरेर गत आर्थिक वर्षदेखि दातृ सँस्थाको सहयोगमा जनता आवास कार्यक्रम ल्याएको थियो ।
कच्चि घर फालेरे वरण्डासहित ३ कोठे घर पाएका स्थानीय हर्षित भएका छन् । स्थानीय गोपालले राईले डेराको जीवनबाट मुक्त भएको भन्दै खुसि व्यक्त गरे । वेलवारी क्षेत्रमा सामान्य मजदुरी गरेर परिवार पाल्दै आएका उनले घर बनाउने खर्च जुटाउन नसकिरहेको बताए ।
त्यस्तै वेलवारीकी भावना लुुइटेलले राम्रो घरमा बस्न नपाइ जीवन जान्छकि भन्ने सोचेपनि नगरले ठुलो गुन लगाएको बताइन् । भनिन् ‘परिवार चालनै धौधौ छ । यो महँगीका घर कसरी बनाउनु ?’ स्थानीय जसजीत राईले विपन्न समुुदायका व्यक्तिले घर पाएपछि निकै सहज भएको बताए । सुरक्षित वासस्थाना हुँदा वर्षा र हिउँदमा परिवारका सदस्य सुरक्षित भएको भन्दै सरकारले आफुजस्ता विपन्नलाई आपतमा हेरेको प्रतिक्रिया दिए ।
घर बनाउन २ लाख ५० हजार रुपैया लागेको छ । जसका लागि नगरपालिकाले १ लाख ५० हजार रुपैयाँ र दुुइ दातृ सँस्था साहरा नेपाल र ह्यावीट्याट फर ह्युमानिटीले १ लाख खर्चिएका छन् । नगरपालिकाले चालु आउँदो आर्थिक वर्षभित्र घर बनाउन नसक्ने अवस्थाका विपन्न परिवारका लागि यो कार्यक्रमलाई निरन्तरता दिने मेयर सुवेदीले बताए । ‘खर्च अभावमा घरविहिन हुन नपरोस् भन्नका लागि आउँदो दिनमा विपन्नलाई घर बनाउने अभियान व्यापक बनाउने र त्यसका लागि नगरले थप दातृ निकाय जुटाइरहेको छ,’ उनले भने । आधारभुत आवश्यकता रहेको आवासलाई पुर्णता दिँदै अतिविपन्न परिवारका नागरिकलाई आम्दानीसँग जोड्न गरिबसँग नगरपालिका कार्यक्रम सँगसँगै लग्ने नगरपालिकाको योजना रहेको उनको भनाइ छ ।