विराटनगरः कोरोना रोकथामका लागि मोरङको दुइदेशीय सीमा क्षेत्र चुनौती बनेको छ ।

आफ्ना देशका सँक्रमित नागरिक व्यवस्थापन गर्न सक्षम भएपनि खुल्ला बोर्डरको फाइदा उठाउँदै भारतबाट लुकिछिपि आउने व्यक्तिले थप चुनौती बढाएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले भारत पुगि नेपाल फर्किने जो कोहिलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ । यो नियम कडाइका साथ लागुु नगरिएपछि सीमा क्षेत्रको भारतीय बजार जोगवनी जाने क्रम बढ्न थालेको निस्कर्षसहित प्रशासनले सीमापार गरेर फर्किने व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा बस्न बाध्यकारी बनाएको छ ।

‘प्रदेश १ को विराटनगरमा अझैसम्म कोरोना नियन्त्रण भएको छैन । यसको मुख्य कारण खुल्ला सीमा हो ।’ निरौलाले भने  ‘कोरोना नियन्त्रणका लागि सीमाको समस्या नै मुख्य भएको निस्कर्षसहित आवतजावतलाई कसिलो बनाउने गरि सँयन्त्र परिचालन गरिएको छ ।’ मोरङमा मात्रै भारतसँगको ६३ किलोमिटर खुल्ला सीमा रहेको छ भने सो क्षेत्रभित्रका ३७ ओटा प्वाइन्टबाट नेपालभारत आउजाउ हुने गरेको छ । अहिले सीमामा शसस्त्र प्रहरीको विओपी स्थापना गरि गस्ति बाक्लो बनाइएको निरौलाले जानकारी दिए । हालसम्म प्रदेश एकमा ६ हजार बढि कोरोना सँक्रमित भएका छन् भने १७ सय ४८ जना कोरोना मुक्त भएको प्रदेश १ स्थित सामाजिक विकस मन्त्रालयले जानकारी दिएको छ ।