सुनसरी: सुनसरीको बराहक्षेत्र १ कटहरेस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी १२ बर्षीया बालिकाको हत्या भएको पुष्टि भएको छ ।

हिजो शनिबार १२ बर्षीया मिना राई आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिईन् । छिमेकीको घरमा धामी लगाई सकेर विहानको २ बजे राती घर फर्केका अभिभावकले ढोका खोलेर भित्र पस्दा मात्र आफ्नो छोरी(मिना)लाई मृत अवस्थामा देखेर प्रहरीलाइ खबर गरेका थिए ।

मिनाको हत्यामा साही स्थानका १५ बर्षीय बालक संलग्न भएको प्रहरीले जनाएको छ । उनलाई घटना भएको २४ घण्टा भित्रै पक्राउ गरेको छ । घरमा बालिका मात्र एक्लै भएको बेला राती १० बजे तिर ती बालक चटपटे किन्न पुगेको र दुवैबीच बादविबाद हुँदा ती बालकले हत्या गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार ती बालकले सिसाको बोत्तलले मिनाको टाउकोमा प्रहार गरी भेष्ट र रुमालले घाँटीमा कसेर हत्या गरेका थिए । मिनाको हत्या पछि आफ्नै घरमा गएर सुतेको वयान सोधपुछको क्रममा ती बालकले प्रहरीलाई दिएका छन् ।

घटनामा खटिएको प्रहरी टोलीले मृत बालिकाको शव संकास्पद देखिएपछि अनुसन्धान शुरु गरेको थियो । घटनाको अनुसन्धान गर्न संघीय प्रहरी ईकाइ कार्यालय धरानबाट “लैला” नामको कुकुरसहितको टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटेको थियो । अनुसन्धानमा खटिएको प्रहरी टोलीले मिनाको हत्या भएको पुष्टि गरेको हो । पक्राउ परेका बालकलाई मुलुकी अपराध (संहिता ऐन) २०७४ को ज्यान सम्वन्धी कसुरमा सुनसरी जिल्ला अदालतवाट ५ दिनको म्याद थप भएको र घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।