धरान: प्रदेश सांसद तथा नेकपा नेता भीम आचार्यले पहिरोको कारण विस्थापित भएका धरान वडा नं २० का सात घर परिवारलाई भेट गर्नुका साथै क्षतिको स्थलगत निरीक्षण पनि गरेका छन् ।
विष्णुपादुका क्षेत्र सांसद आचार्यको निर्वाचन क्षेत्र सुनसरी क्षेत्र नं १ ख मा पर्छ । आचार्य प्रदेश सांसदका साथै नेकपा प्रदेश १ कमिटि इञ्चार्ज तथा स्थायी कमिटि सदस्य पनि हुन् । आचार्यले विस्थापितहरुको समस्या बुझ्न र बासको व्यवस्थापन कसरी गर्ने भनेर छलफल गरेका थिए । ‘उहाँले पहिरोले के कति क्षति भयो, विस्थापित परिवारको समस्या के छन् भनेर स्थलगतरुपमा गएर बुझ्नु भएको हो,’नेकपा धरान उपमहानगर कमिटि अध्यक्ष नारायण सुवेदीले भने,‘पुर्नस्थापना कहाँ गर्ने भन्ने समस्या छ, त्यसबारे पनि उहाँले जग्गा खोजी गर्न भन्नु भएको छ ।’
अध्यक्ष सुवेदीका अनुसार सांसद एवं नेता आचार्यले एलनी, पर्ति जग्गा खोजी गर्न वडाअध्यक्षलाई आग्रह गरेका छन् । जग्गा व्यवस्था भएपछि सरकारसँग घर बनाउन आवश्यक पहल गर्ने पनि आचार्यले प्रतिवद्धता जनाएका छन् । ‘बस्नको लागि ऐलनी पर्ति जग्गा खोजी गर्नु, सरकारबाट घर बनाइदिने भन्नु भएको छ,’सुवेदीले भने,‘पछि आयोगबाट पुर्जा दिलाउन पनि सकिन्छ ।’ निरन्तरको बर्षाले गर्दा एक साताअघि विष्णुपादुकाको आँपटार क्षेत्रमा पहिरोसँगै जमिन चिरा परेर ७ घर पुर्णरुपमा बस्न नमिल्ने गरि क्षति पुगेको थियो । ती परिवारलाई सुरक्षित जग्गामा टेण्ट हालेर राखिएको छ । त्यहाँ जग्गाधनीले ३ महिनासम्मलाई बस्न अनुमति दिएको छ ।
विस्थापितहरुलाई कहाँ बासको व्यवस्था गर्ने भन्ने चिन्ता छ भने तत्कालको लागि खानेपानी र शौचालयको पनि समस्या छ । विस्थापितहरुलाई केही संघसंस्थाहरुले राहत पनि वितरण गरिरहेका छन् । सांसद तथा नेता आचार्यले खानेपानी र शौचालयको पनि चाडै व्यवस्था गरिदिने आश्वासन दिएका छन् भने खाद्यान्न पनि राहत लिएर आउने बताएका थिए ।आचार्यसँग प्रदेश सांसद उमिता वराइली, नेकपाका नेताहरु मुक्साहांग मेन्यांबो, अइन्द्र बेघा, चोत्लुंग, प्रकाश राईलगायत पनि विष्णुपादुका गएका थिए ।