धरान: आइसोलेसनमा बसेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिको हस्ताक्षर भएको सरुवा र नियुक्तीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

अख्तियारको इटहरीस्थित कार्यालयले प्रतिष्ठानलाई पत्राचार गर्दै संक्रमण भएर आइसोलेसनमा बसेका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले कर्मचारीको सरुवा, जुनियरलाई जिम्मेवारी दिएकोलगायत बिषयमा जवाफ मागेको छ । साथै, अख्तियारले कर्मचारीहरुको नियुक्ती भएको बारेमा पनि प्रतिष्ठानसँग जवाफ मागेको छ । दुई साताअघि कोरोना संक्रमण पुष्टि भएपछि उपकुलपति गिरी होम आइसोलेसनमा बसेका छन् । तर, यही समयमा डा.गिरीको हस्ताक्षर भएको कर्मचारीको सरुवा, जिम्मेवारीबाट हटाएको पत्र सम्बन्धित व्यक्तिहरुमा पुगेको थियो । यस्तै, आइसोलेसनबाट नै उपकुलपति गिरीले झण्डै २ दर्जन कर्मचारीहरुको पनि नियुक्ती गरेका छन् ।

अख्तियारले यी समग्र बिषयमा प्रतिष्ठानसँग जवाफ मागेको स्रोतले जानकारी दियो । उनका अनुसार संक्रमण भएर होम आइसोलेसनमा बसेका व्यक्तिले हस्ताक्षर गरेको पत्र बाहिर ल्याउनु नै शंकास्पद छ । संक्रमित व्यक्तिले छोएको वा प्रयोग गरेको वस्तुहरु डिस्पोज गर्नुपर्ने प्रोटोकल छ । ‘संक्रमण भएर आइसोलेसनमा बसेका व्यक्तिले प्रक्रिया विपरीत कर्मचारी सरुवा, जुनियरलाई जिम्मेवारी दिएको र धमाधम नियुक्ती गरेको बिषयमा अख्तियारले सोधेको छ,’स्रोतले भन्यो,‘कर्मचारी सरुवा, जुनियरलाई जिम्मेवारी दिने निर्णय प्रक्रिया विपरीत नै छ, कोभिड अस्पतालको नाममा धमाधाम कर्मचारीहरु पनि नियुक्ती गरिएको छ ।’

इटहरीस्थित अख्तियारका प्रमुख प्रकाश पौडेलले उजुरी परेको बिषयमा छानबिन गर्नु र जवाफ माग्नु स्वभाविक भएको बताए । सुचना अधिकारी पुरुषोत्तम ढकालले छानबिनको क्रममा भएको बिषयमा प्रतिक्रिया दिन नमिल्ने बताए । ‘छानबिनको क्रममा भएको बिषयमा बोल्न मिल्दैन, नतिजा आएपछि भनौला,’उनले भने । प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीसँग सम्पर्क गर्दा उनले पनि यो बिषयमा आन्तरिक बिषय भएकोले बोल्न नमिल्ने बताए । ‘आन्तरिक बिषय भएको हुनाले यसबारेमा बोल्न मिल्दैन,’फोन सम्पर्कमा रजिष्ट्रार रेग्मीले भने ।

सचिवालयको चलखेल

कोरोना संक्रमित भएपछि उपकुलपति डा.गिरी आइसोलेसनमा छन् । संक्रमित व्यक्ति आइसोलेसनमा बसेपछि उनी स्वतः कार्यालयबाट विदामा हुन्छन् । तर, उपकुलपति डा.गिरी भने संक्रमण भएर आइसोलेसनमा बसेपनि कर्मचारी सरुवा, नियुक्तीमा सक्रिय छन् ।

आइसोलेसनमा बसेका उपकुलपति गिरीको प्रशासनिक सल्लाहकार भनिएका स्वकिय सचिव दिलिप भट्टराईको मनोमानी भइरहेको कर्मचारीहरु बताउँछन् । ‘आइसोलेसनमा बसेपछि रेक्टरलाई निमित्त दिनुपर्ने हो, तर उपकुलपतिले निमित्त नदिएपछि उनको सचिवालयले धमाधम सरुवा, नियुक्तीहरु गरिरहेको छ,’स्रोतले भन्यो ।