धरान: कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु कार्यरत धरान उपमहानगरपालिकाको शाखाहरु सिल गरिने भएको छ ।

संक्रमण देखिएका कर्मचारीहरु कार्यरत शाखाहरुलाई सिल गरिने मेयर तिलक राईले जानकारी दिए । उनका अनुसार आज(बुधबार) उपमहानगरपालिकाको सुचना र घरनक्सा शाखामा कार्यरत कर्मचारीहरुलाई संक्रमण देखिएको छ । त्यसैले गर्दा बिहिबारदेखि उक्त शाखाहरुको काम बन्द गरिने उनले बताए । ‘यसअघि पनि संक्रमण देखिएको कर्मचारीहरु काम गर्ने शाखामा काम बन्द गरेका छौं, कार्यालयमा सामान्य कामहरु मात्र भइरहेको छ,’मेयर राईले भने,‘आज संक्रमण देखिएको सुचना र घरनक्सा शाखालाई पनि सिल गछौं ।’

आज साँझ आएको रिपोर्ट अनुसार सुचना शाखाका २ जना अधिकृतलाई संक्रमण पुष्टि भएको छ भने घरनक्सा शाखाका २ जना अधिकृतलाई कोरोना पोजेटिभ देखिएको छ । केही दिनअघि प्रशासनअन्तर्गतका अनुगमन अधिकृतलाई पनि संक्रमण पुष्टि भएको थियो । त्यसपछि, ती शाखाका कर्मचारीहरु होम क्वारेन्टिनमा बसेका छन् ।

'तत्काल लकडाउन हुदैन'

dharan-mayor

कोरोना संक्रमितहरुको संख्या बढीरहेको भएपनि मेयर राईले तत्काल लकडाउन गर्नेतर्फ भने नसोचेको बताए । यसबारेमा विस्तृत छलफल गरेर मात्र निर्णय लिइने उनको भनाई छ । ‘चडपर्वहरु पनि आइरहेको छ, त्यसैले विस्तृत छलफल गरेर मात्र निर्णय लिन्छौं,’मेयर राईले भने,‘बरु अझै व्यवस्थितरुपमा बजार, पसल खुलाउन, प्रोटोकल पालना गराउन, संक्रमितको ट्रेसिंग गर्नमा जोडदिन्छौं । प्रदेश र संघीय सरकारसँग आवश्यक समन्वय गछौं ।’

१५ नम्बर वडा कार्यालय ७ दिनलाई बन्द

धरानको वडा नं १५ कार्यालय पनि भोली बिहिबारदेखि ७ दिनलाई बन्द गरिने भएको छ । वडा नं १५ का अध्यक्ष नरेश इवारमका अनुसार वडा कार्यालयका २ जना कर्मचारीलाई संक्रमण देखिएकोले यस्तो निर्णय लिइएको हो । ‘२ जना कर्मचारीलाई संक्रमण देखिएकोले थप फैलन नदिन कार्यालय ७ दिनलाई बन्द गछौं,’अध्यक्ष इवारमले भने,‘म आफै पनि होम क्वारेन्टिनमा बस्नेछुँ ।’ वडा १५ मा प्रशासनको खरदार र एक जना अमिनलाई संक्रमण पुष्टि भएके छ ।