धरान: लायन्स क्लव अफ धरान विजयपुर र लियो विजयपुरको आयोजनामा पुर्व वृटिस गोर्खा सैनिक सन्तवहादुर गुरुङ्गले आफ्नो जन्मदिन धरान पुनस्थापना गृहमा मनाएका छन् ।
आफ्नी ७२ बर्षीया श्रीमति मनमाया गुरुङ्गसंगै पुनस्थापना गृहमा आश्रितहरु माझ गुरुङ्गले विहिवार ९० बर्ष पुगेको अवसरमा केक काटेका थिए । जन्मदिनको अवसरमा उनले दशैंसम्म खान पुग्ने गरि खाद्यान्न समेत प्रदान गरेका छन् । उनले पाँच सय ५० केजी चामल, २२ केजी नुन, २ कार्टुन तेल र २५ केजी चामल गृहका संचालक भीम राईलाई हस्तान्तरण गरेका छन् ।
बुहारी टंक गुरुङ्गले बुवा आफ्नो जन्म दिनको अवसरमा सामाजिक काम गर्नु भनेर सम्झाए पछि पुनस्थापना गृहमा जन्मदिन मनाउदै सहयोग गरेको ज्येष्ठ नागरिक गुरुङ्गले बताए । धरान १६ सितल मार्ग निवासी गुरुङ्ग हाल युके बस्दै आएका थिए । हाल छुट्टिमा नेपाल आएको बेला लकडाउनमा परेकोले उनी फर्कन नपाएको बुहारी एवं लायन्स क्लवका ड्रिस्टिक ३२५ ए वान डायविटिज चिफ टंक गुरुङ्गले जानकारी दिइन् । खाद्यान्न प्रदानसंगै पुनस्थापना गृहका आश्रितहरुलाई जुस पनि दिइएको थियो ।
पुनस्थापनामा गृहमा हाल २८ जना वस्दै आइरहेका छन् । विभिन्न सहयोगी दाताहरुको सहयोगले नै गृह संचालन भइरहेको संचालक भीम राईले बताए । साथै उनले सहयोगको लागि धन्यवाद पनि दिए । गृहमा ४ वर्ष देखि ७० वर्ष सम्मका शारीरिकरुपमा अशक्त, अभिभावकविहिनहरु आश्रित रहेका छन् ।
कार्यक्रमका सभाध्यक्ष लायन्स क्लव अफ विजयपुरका अध्यक्ष कविरभगत प्रधानाङ्गको स्वागत मन्तव्यबाट सुरु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि विशेष सल्लाहकार गौरीशंकर अग्रवाल, सल्लाहकार मिना पुलामी, विपिन सुब्वा, डिस्ट्रिक चिफ शान्ति श्रेष्ठ, सिनियर एडभाइजर वलराम मानन्धर, चित्र राई, लायन्स जुम्वा अध्यक्ष कृति श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।