धरान: दशैं, तिहार र छठजस्ता ठुला चाडपर्व नजिकिदै गर्दा नेपालमा कोरोना संक्रमण पनि समुदायस्तरमा झन् फैलदै गइरहेको छ । दैनिकरुपमा आउने पोजेटिभ रिपोर्टको संख्याले यसपालीको चाडपर्वमा कतै लकडाउन त हुदैन ? भन्ने आशंका पनि जनमानसमा छ ।

लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ । सुनसरीमा पनि दिन प्रतिनिन संक्रमित संख्या बढीरहेको छ । अहिलेसम्म सुनसरीमा संक्रमित संख्या २१ सय बढी भइसकेको छ । तर, निमित्त प्रजिअ महेशकुमार पोख्रेल भने लकडाउन मात्र समस्याको समाधान नभएको बताउँछन् । कुनै ठाउँमा धेरै संख्यामा पोजेटिभ देखिए उक्त ठाउँलाई सिल गर्न सकिने तर लकडाउन गर्ने कुनै योजना नरहेको उनले बताए ।

निमित्त प्रजिअ पोख्रेलले संक्रमणलाई समुदायमा फैलन नदिन व्यक्ति व्यक्तिमा सचेतना गराउनु नै सबैभन्दा उचित उपाय भएको बताए । ‘सबैभन्दा ठुलो कुरा सचेतना नै हो । व्यक्ति आफै सचेत नभएसम्म सरकारी स्तरबाट जति गरे पनि हुदैन,’पोख्रेलले भने,‘सचेतनाको लागि सबै पालिकालाई अनुरोध गरिरहेका छौं । भदौ अन्तिममा डिसिसिएम बैठकमा सबै पालिका प्रमुखहरुलाई बोलाएर जनतालाई सचेत गराउनुस् भन्यौं ।’

उनका अनुसार भैपरि आउने ठुलो समस्यासँग जुध्नको लागि सुनसरीका १२ पालिकाहरुबाट कुल ३६ लाख लिएर आकस्मिक कोष स्थापना गरिएको छ । प्रत्येक पालिकाले ३ लाखको दरले कोषमा जम्मा गरेका छन् । ‘बराहक्षेत्र र हरिनगराको प्रमुखको हस्तक्षर हुने गरि इर्मजेन्सी फण्ड बनाएका छौं । केही गर्नुपरे्यो भने त्यहाँबाट गछौं । दुहबी र इटहरीमा १, १ सय क्षमताको आइसोलेसन पनि बनाएका छौं,’उनले भने ।

चाडपर्व लक्षित कार्ययोजना बनाउन निर्देशन  

चाडपर्व नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालयले सशस्त्र र नेपाल प्रहरीलाई सुरक्षाको कार्ययोजना बनाउन निर्देशन दिएको छ । निमित्त प्रजिअ पोख्रेलले दशै, तिहार, छठ पर्वको कार्ययोजना बनाएर ल्याउन निर्देशन दिइएको बताए । पोख्रेलका अनुसार दुवै निकायले कार्ययोजना ल्याएपछि सुरक्षा बैठक बसेर ठोस निर्णय हुनेछ । चाडपर्वमा किनमेलको लागि भिडभाड धेरे हुने गर्छ । अझ यसपाली कोरोना संक्रमण फैलिरहेकोले चाडपर्वमा सुरक्षा मात्र नभै स्वास्थ्य मापदण्ड पालनाको चुनौती पनि सुरक्षा निकायलाई छ ।

धरानलगायत अधिकांश स्थानमा नवरात्रीमा पण्डाल लगाएर दुर्गाको मुर्ति राखेर सार्वजनिकरुपमा भव्य पूजा गर्ने, भजन लगाउने चलन छ । त्यसले भिड गराउने र कोरोनाको जोखिम बढाउने भएकोले यसपाली त्यसरी दुर्गा पूजा गर्ने अनुमति नदिइएको पनि निमित्त प्रजिअ पोख्रेलले बताए । ‘मुर्ति बनाएर राख्ने, भजन लगाउनेलाई अुनमति दिएका छैनौं । दुर्गा पुजालाई अहिलेसम्म अनुमति नदिने, भिडभाड गर्न नदिने नै हो,’उनले भने ।