धरान: आज मध्याह्न इनरुवा नगरपालिका ७ वर्छवा चोकबाट प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको हरिनगर गाउँपालिका ७ कविलासा घुस्कीका १९ बर्षीय उपेन्द्र सरकार र हरिशंकर सरदार रहेका छन् । उपेन्द्रले ज ८ प ५९३६ नम्बरको मोटरसाइकल चलाएका थिए भने हरिशंकार पछाडि बसेर प्लाष्टिकको बोरामा लागुऔषध बोकेका थिए । भारतबाट अवैधरुपमा लागुऔषध ल्याएर आइरहेको बिशेष सुचनाको आधारमा प्रहरी गस्ती टोलीले वर्छवा चोक नजिकैको भित्र सडकखण्डमा चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट डाइलक्स डिसि १०० एमएलको ८९ बोतल, स्पास्मोप्रोक्सिभन ६७८ क्याप्सुल, नाइट्राभेट ४२० क्याप्सुल बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुवैलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।