धरान: किरात राई बान्तवा खावाहाङ बंशले ‘खावाहाङ सेवा समाज खोटाङ’ गठन गरेका छन् ।
खोटाङको दक्षिणी भेग जन्तेढुङ्गा गाउँपालिका ३ मा बसोबास गदै आएका खावाहाङ राईहरुले खावाहाङ समाज गठन गरेका हुन् । विधान खावाहाङको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । नवगठित समितिको सचिबमा कृष्ण खावाहाङ, कोषाध्यक्षमा मञ्जु खावाहाङ चयन गरिएको खावाहाङ सेवा समाज सुनसरीका कोषाध्यक्ष एबंम गायक चन्द्र खावाहाङ राईले जानकारी दिए ।
यस्तै, समितिको सदस्यमा दिवश खावाहाङ राई, इन्द्रा खावाहाङ राई, सहजित खावाहाङ राई, प्रेम कुमार खावाहाङ राई, तारादेवी खावाहाङ राई र रोशन खावाहाङ राई चयन भएका छन् । ‘खोटाङमा अहिले ९ सदस्यीय तर्दथ समिति गठन गरेका छौं,’गायक चन्द्र खावाहाङले भने, ‘अब २ वर्षपछि पूर्ण समिति गठन गछौं ।’ खोटाङको जन्तेढुङ्गा गाउँपालिका ३ स्थित सालम्बु, होप्सिखा, कोइमाताङ, फगतपुरका करिब ४५ घर ‘खावाहाङ’ पाछाहरुलाई सहभागी गराएर समिति गठन गरिएको गायक राईले बताए ।
किरात राई बान्तवा भित्र रहेका विभिन्न पाछाहरु मध्ये ‘खावाहाङ’ पाछा पनि एक हो । भोजपुरको बासिखोरा खावाहाङ वंशको मुख्य थाकथलो मानिन्छ । बासिखोरा जननायक रामप्रसाद राईको गाउँ हो । उनी पनि खावाहाङ बंश कै हुन् । उनले २००७ सालमा प्रजातन्त्र प्राप्तीका लागि पूर्वको कमाण्ड सम्हालेका थिए । अहिले खावाहाङ वंशहरु खोटाङ, उदयपुर, सुनसरीमा बसोबास गदै आएको गायक राईले बताए । आफ्नो पाछाका समुदायलाई संगठित गदै संरक्षण गर्ने उद्देश्यले समाजको गठन गरिएको उनले बताए । ‘आफ्नो समुदायलाई एक जुट बनाउनको लागि समाजको गठन गरिएको हो’ उनले भने ।