धरान: दिनहुँ कोरोना संक्रमितहरुको संख्या बढीरहे पनि धरानमा तत्काल लकडाउन नगरिने भएको छ ।

आज दिउँसो ३ घण्टा भन्दा बढी समयमा उपमहानगरपाकिलामा भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले धरानमा तत्काल लकडाउन नगर्ने निष्कर्ष निकालेको हो । साथै, थप सरोकारवालाहरुसँग पनि छलफल गरिने भएको छ । बैठकले नगरबासीहरुलाई स्वास्थ्य प्रोटोकल पालना गर्न आह्वान गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विदुर खनालले जानकारी दिए । ‘स्वास्थ्य प्रोटोकल पालना गर्ने भन्ने निष्कर्ष भयो । सम्पुर्ण नगरबासी, व्यवसायी, कर्मचारी सबैले स्वास्थ्य प्रोटोकल पालना गर्न सार्वजनिक आह्वान गर्ने भन्ने रह्यो,’उनले भने,‘हामीसँग त्यस्तो गतिलो संयन्त्र त छैन तर प्रहरी, नगरप्रहरीले अनुगमन गर्छ । तपाई, हामी सबै सचेत त हुनुपर्यो,’उनले भने ।

बैठकमा राजनीतिक दलका प्रतिनिधि, पुर्वजनप्रतिनिधि, बुद्धिजिवि, वीपी प्रतिष्ठानका चिकित्सकसहित सहभागी थिए । बैठकमा सहभागी नेकपाका अध्यक्ष नारायण सुवेदीले पनि स्वास्थ्य प्रोटोकल पालना गर्न नगरबासीहरुलाई अनुरोध गर्ने, प्रचार गर्ने निष्कर्ष निकालिएको बताए । उनका अनुसार बैठकमा सहभागीहरुले लकडाउन गर्नुपर्ने सुझाव पनि दिएका थिए, तर त्यो सुझाव दिने संख्या कम भएको थियो ।

‘लकडाउन गर्नुपर्छ भन्ने पनि मत आयो, तर गर्नुहुदैन भन्ने मत धेरै संख्यामा भयो । लकडाउनको साटो स्वास्थ्य सुरक्षालाई प्रभावकारी बनाउनुपर्छ भन्ने भयो,’सुवेदीले भने,‘मास्क नलगाई हिड्नेलाई सचेत गराउने, मास्क प्रयोग गर्न लगाउन अनुगमन तीब्र पार्ने, पसलमा सेनिटाइज गर्ने प्रोटोकललाई पुर्णरुपमा लागु गराउने भन्ने भयो ।’ स्वास्थ्य प्रोटोकल पालना भए नभएको प्रभावकारी अनुगमन गर्ने र त्यसमा जनपद, सशस्त्र र नगर प्रहरीलाई परिचालन गर्ने पनि निष्कर्ष भएके छ । यस्तै, यातयातमा पनि सेनिटाइज, पञ्जा र मास्क प्रयोग भए नभएको पनि अनुगमन गर्ने निष्कर्ष बैठकले निकालेको छ ।