सुनसरी: इटहरी उपमहानगरले कोभिड नियन्त्रणका लागि जोखिम क्षेत्रको वर्गीकरण गर्दै रेडजोनसहितको मापदण्ड तोकेको छ ।
उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा सिडिओ समेतको उपस्थितिमा बसेको वैठकले कोभिड रोग रोगथाम तथा नियन्त्रणका लागि ब्यवस्थापन तथा अनुगमन सम्वन्धि मापदण्ड पारित गरेको हो । उपमेयर लक्ष्मी गौतमले बैठकमा प्रस्तुत गरेको मापदण्डमा इटहरी क्षेत्रको जोखिम वर्गिकरण गरिएको छ । इटहरी चौक क्षेत्र, वडा नम्वर ९ हटिया क्षेत्र, वसपार्क, तरहरा बजार, खनार वजार, पकली चौकलाई उच्च जोखिम क्षेत्रमा राखिएको छ ।
यसैगरी बढि भीडभाड हुने कार्यालयहरु उपमहानगर कार्यालय, इटहरी अस्पताल, यातायात, वैकहरु, विद्युत कार्यालयलाई रेडजोनमा राखिएको छ । रेडजोन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरि विना प्रयोजन हिडडुल गर्न वन्द गर्ने निर्णय गरिएको छ । यस्तै, माक्स नलगाई हिडने जो कोहीलाई नियन्त्रणमा लिएर सय रुपियाँ जरिवाना गर्ने र एकथान मास्क दिएर सचेत गराइने पनि निर्णय भएको छ ।
प्रत्येक पसल, कार्यालय अगाडी सावुन पानीको ब्यवस्था गर्ने, नगरेको पाइए एक पटक सचेत गराउने, पूनः उल्लंघन गरे संक्रामक रोग ऐन २०२० अनुसार कारवाहीको लागि सिफारिस गरिने भएको छ । यस्तै, साप्ताहिक हटिया वन्द गर्ने निर्णय गरिएको छ भने कोभिड रोग पूर्ण नियन्त्रण नभएसम्म सभा, मेला, भोज भतेर तथा सार्वजनिक कार्यक्रमहरुलाई प्रतिवन्ध गरिएको छ ।
जेष्ठ नागरिक, दम, मधुमेह, उच्चरक्तचाप जस्ता दीर्घरोग भएका र गर्भवती, सुत्केरी, वालवालिकालाई उपचारका लागि बाहेक हिडडुलमा रोक लगाउने निर्णय गरिएको छ । नगरप्रमुख चौधरीले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न नगरवासीमा आग्रह गरेका छन् । उपमेयर गौतमले पनि मापदण्ड वनाएर मात्र नहुने भएकाले कडाइका साथ पालना गर्न र गराउनुपर्नेमा जोडदिइन् । बैठकले मापदण्ड पालना भए नभएको कडाइका साथ अनुगमन गर्ने निर्णय गरेको छ भने होम आइसोलेसनको मापदण्ड नपुगेको अवस्थामा संक्रमितलाई इटहरी आइसोलेसनमा राखिने भएको छ । इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज राम कुमार धमलाका अनुसार अहिले इटहरीको होम आइसोलेसनमा २सय ८६ जना छन । इटहरीको आइसोलेसनमा ४५ जना छन ।