धरान: लोक लक्ष्मी स्मृति प्रतिष्ठान धरानले आउँदो मंसिर महिनासम्म मजदुर, विपन्न समुदाय र असहायहरुलाई निःशुल्क खाना खुवाउने भएको छ ।

कोरोना भाईरसका कारण मजदुर, विपन्न समुदाय र असहायहरु भोकै बस्न नपरोस् भनेर प्रतिष्ठाने असोज १ गतेबाट निःशुल्क खाना खुवाउँदै आएको छ । प्रतिष्ठानले निःशुल्क खाना खुवाउने अभियान दुई महिना थप भएको जानकारी दिएको छ । गत भदौ ३१ गते धरान उपमहानगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै असोज महिना भर निःशुल्क खाना खुवाउने घोषणा गरेको थियो । प्रतिष्ठानले आगामी मंसिर महिनासम्म दैनिक गुजारा गर्न समस्या भएका मजदुर, विपन्न समुदाय र असहायहरुलाई निःशुल्क खाना खुवाउने जनाएको छ ।

khana- 1

प्रतिष्ठानका अनुसार हाल धरान ८ स्थित लांघाली सामुदायिक वनको आवास गृहमा रहेका सडक मानवहरु र धरान १ छाताचौकस्थित पुरानो अस्पतालमा रहेको पुर्नस्थापना गृह दैनिक १ सय १५ जनालाई निःशुल्क खाना खुवाउँदै आएको छ । धरान उपमहानगरपालिकाको संयोजन तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीको सहभागितामा प्रतिष्ठानले निःशुल्क खाना खुवाउँदै आएको हो । धरानका समाजसेवी स्वर्गीय लक्ष्मी प्रसाद श्रेष्ठ र श्रीमती स्वर्गीय लोककुमारी श्रेष्ठको स्मृतिमा लोकलक्ष्मी स्मृति प्रतिष्ठान स्थापना भएको हो । प्रतिष्ठानले धरानमा विशेष गरेर शिक्षा क्षेत्र लगायत विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।