धरान: सामाजिक सञ्जाल इमोमार्फत २५ लाखको चिट्ठा पर्यो भनेर ठगी गर्नेलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले इमोबाट इटहरीका एक युवालाई ठगी गरेको आरोपमा सिरहाका अरबिन्दकुमार कामतीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज २४ गते राती साढे ८ बजे इटहरीका एक इमो प्रयोगकर्ता युवालाई युवतीले फोन गरेर २०२० को इमो लट्री विजेता भएको र २५ लाख भारु विजेता भएको बताएका थिए । उनले राना प्रताप सिंहको इमोमा तत्काल सम्पर्क गर्न भनेपछि पीडित युवाले सम्पर्क गरेको प्रहरीले जनाएको छ । त्यसपछि उनलाई स्टेट बैंक अफ इण्डियाको परिचय पत्र र कौन बनेगा करोडपतिको सिनियर अफिसरको पचिरपत्र समेत पीडितको इमोमा पठाएर थप विश्वास दिलाएको अनुसन्धानको क्रममा खुलेको छ ।

भोलीपल्ट बिहान सम्पर्क गर्दा नेपाल सरकारलाई २२ हजार ५ सय ट्याक्ट बुझाउनु पर्ने भन्दै नजिकैको आईएमईबाट अरबिन्द्रकुमार कामतीको नाममा सिरहामा पैसा पठाउन लगाएका थिए । कामती ठगी गर्ने समुहको नेपाल हेर्ने कम्पनी अफिसर भएको पीडित युवालाई बताएका थिए । पीडित युवाले भने वमोजिम नै पैसा पठाएका थिए । केही समय पछि चेकमा सही गर्ने अधिकृतलाई नेपाली ५५ हजार दिनुपर्ने भयो भन्दै थप रकम पठाउन भनेपछि मात्र इटहरीका युवाले आफु ठगीएको थाह पाएपछि इलाका प्रहरी कार्यालय इटहरीमा जानकारी गराएका थिए ।

घटनाबारे जानकारी पाएपछि प्रहरीले अनुसन्धानको क्रममा असोज २५ गते सिरहाबाट पक्राउ गरेको छ । उनलाई जिल्ला अदालत सुनसरीबाट ठगी मुद्दामा म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले इमो, मेसेन्जर, फेसबुकलगायत सामाजिक सञ्जालबाट चिट्ठा परे भनेर ठगी गर्न सक्ने भएकोले सचेत रहन पनि सबैलाई आग्रह गरेको छ ।