झापा: झापाको कनकाई नगरपालिका ३ सुरुङा खोलाको डिलमा रहेको बाँसघारीमा मृत अवस्थामा फेला परेका २२ बर्षीय अभिषेक चौधरीको हत्या भएको पुष्टि भएको छ ।
कनकाई ३ मै बसोबास गर्ने चौधरी हिजो विहान ६ बजे बाँसघारीमा मृत अवस्थामा फेला परेका थिए । घटनाबारे अनुसन्धानमा खटिएको प्रहरी टोलीले चौधरीको हत्या भएको पुष्टि गर्दै हत्यामा संलग्न कनकाई ७ का २२ बर्षीय टल्के भन्ने रविन राजबंशीलार्इ पक्राउसमेत गरेको छ । उनलाई घटना भएको ८ घण्टा भित्रै पक्राउ गरेर आज ईलाका प्रहरी कार्यालय अनारमनिले सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार मृतक चौधरी र राजबंशी दुबै जना लुकिछिपी लागुऔषध सेवन गर्ने गरेका थिए । लागुऔषधकै विषयमा उनीहरु विच बादविबाद भएपछी हत्या भएको पनि खुलेको छ । मंलबार राती चौधरी खोलाको डिलमा निस्किएको मौका छोपेर राजबंशीले पछाडीबाट बन्चरोले शरिरका विभिन्न भागमा प्रहार गरेर हत्या गरेका थिए । हत्या पश्चात शवलाई बाँसघारीमा राखेर उनी फरार रहेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राजबंशीले आफुले चौधरीको हत्या गरेको साबिति बयान समेत दिएका छन । प्रहरीले घटनामा प्रयोग गरेको बन्चरो र राजबंशीको कपडा समेत बरामद गरेको जनाएको छ। राजबंशी माथि ईलाका प्रहरी कार्यलय अनारमनिबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।