विराटनगर: विराटनगरमा कोरोना संक्रमणबाट थप ४ जनाको निधन भएको छ । ती मध्ये एक जना अस्पतालका सञ्चालक पनि छन् ।
मृत्यु भएकाहरुमा नोबेल मेडिकल कलेजमा दुई जना छन् भने कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगर र न्यूरो अस्पतालको कोभिड–१९ अस्पतालमा एक–एकको मृत्यु भएको छ । न्युरो अस्पतालमा मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको छ । उनी पथरीस्थित मोरङ हस्पिटल प्रालिका सञ्चालक भएको बताइएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको र मिर्गौला सम्बन्धी समस्याबाट पनि पीडित थिए ।
यस्तै, नोबेल मेडिकल कलेजमा मोरङको ग्रामथान गाउँपालिकाका एक व्यक्तिको आज बिहान र विराटनगर–३ का थप एक व्यक्तिको हिजो राति ११ बजे मृत्यु भएको छ । दुवै जना पुरुष हुन् । यस्तै, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बिराटनगर–२ की ६० वर्षीया महिलाको आज बिहान करिब ४ बजे मृत्यु भएको छ ।