आश्विन शुक्ल चतुर्थी शारदीय नवरात्रको चौथो दिन हो। यस दिन जगज्जननी दुर्गा माताका नौ रूपमध्ये कूष्माण्डाको पूजा अर्चना गरिन्छ।
कूष्माण्डा नवदुर्गाको चौथो रूप हो। कूष्माण्डा नामको व्युत्पत्ति क.सूर्य, ऊष्म.तातो, अण्ड.पिण्ड बाट गर्न सकिन्छ। कूष्माण्डाको निवास सूर्यमण्डलभित्रको लोकमा भएको मानिन्छ। सूर्यमण्डलभित्र रहेर यिनले सूर्य आदि ग्रहमण्डललाई तातोपना र प्रकाश दिन्छिन्। यिनीजत्तिको तेजस्वी अरू कुनै देवीदेवता छैनन्, यिनैबाट सबैले प्रकाश प्राप्त गर्छन् भनिएको छ। प्रकाश र तापबाट संसारको सृष्टि हुन्छ। त्यसैले यिनी सृष्टिकी अधिष्ठात्री देवी हुन्।
कूष्माण्ड शब्दको अर्थ कुभिन्डो भन्ने पनि हो। देवी कूष्माण्डालाई कुभिन्डाको बलि प्रिय लाग्ने भएकाले यिनलाई कूष्माण्डा भनिएको हो भन्ने मान्यता पनि छ। कूष्माण्डाको स्वरूप सूर्यजस्तै तेजिलो भनेर वर्णन गरिएको छ। यिनी अष्टभुजा देवी हुन्। यिनका आठ हात छन्। यिनका हातमा कमण्डलु, धनुष, बाण, कमलपुष्प, अमृतपूर्ण कलश, चक्र, गदा र अक्षमाला छन्। यिनको वाहन सिंह हो।
कूष्माण्डाको हातमा रहेका शस्त्रअस्त्रले भक्तलाई अभय दिन्छन्। कमलपुष्पले शान्ति, सुख र प्रसन्नता प्रदान गर्छ। कमण्डलु र कलशले सौभाग्य एवम् मोक्षरूप परमानन्द प्रदान गर्छन्। अक्षमालाले अष्टसिद्धि र नौ निधि प्रदान गर्छन्। देवीको वाहन सिंहले पराक्रम, निर्भय र सर्वत्र विजय प्रदान गर्छ। श्रद्धा र भक्तिपूर्वक कूष्माण्डाको आराधना गर्ने व्यक्तिले भोग र मोक्ष दुवै प्राप्त गर्छ।
पूजाविधि
नवरात्रका अन्य दिनहरूका जस्तै विधिले चौथो दिन देवी कूष्माण्डाको पूजा–अर्चना गरिन्छ। यस दिन रोहिणी नामकी कन्याको पूजा हुन्छ। प्रातः कालीन र सायं कालीन अन्य कर्म अरू दिनजस्तै गर्नुपर्छ।