धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पार्किङबाट थुप्रै मोटरसाइकलहरु हराउने गर्छ । ती मध्ये केही मोटरसाइकल फेला परे पनि चोर हत्तपत्त पक्राउ पर्दैनन् ।
आज बिहानै भने चोरीको मोटरसाइकलसहित एक व्यक्ति पक्राउ परेका छन् । प्रतिष्ठानस्थित सेक्युरिटी इञ्चार्ज धनबहादुर राईका अनुसार उदयपुरको ठोक्सिला घर भएपनि धरान ११ बस्दै आएका हरिप्रसाद निरौला रंगेहात समातिएका हुन् । उनीसँगै रहेका धरान १६ का सुदिप दाहाल भने चाबी ल्याउने भन्दै फरार भएको इञ्चार्ज राईले बताए । घटना आज बिहान पौने ५ बजेको हो ।
उनीहरुले प्रतिष्ठानको गाइनो र पेडियाट्रिक पार्किङबाट मोटरसाइकल डोर्याउदै लगिरहेको देखेपछि शंका लागेर सोधपुछ गर्दा तेल सकिएको भनेर जवाफ दिएका थिए । त्यसपछि शंका लागेर सेक्युरिटीले आफ्नो अफिस लगेर केरकार गर्दा चोरी गरेको स्वीकार गरेका थिए । ‘गाइनो पार्किङबाट डोर्याउदै लगिरहेको थियो, सोध्दा तेल सकियो भने । तर अफिस ल्याएर केरकार गर्दा चोरेको थाह भइहाल्यो,’इञ्चार्ज राईले भने ।
पक्राउ परेका निरौलासँगै भएका व्यक्ति भने शुरुमा नै चाबी लिन जान्छु भनेर गएका थिए । उनी फर्केर नआएको र खोजी गर्दा पनि नभेटिएको इञ्चार्ज राईले जानकारी दिए । उनीहरुले को २५ प ३५५६ नम्बरको मोटरसाइकल चोरी गरेर लैजादै थिए । यो धरान १७ का लक्ष्मण खनालको भएको खुलेको छ । सेक्युरिटीले पक्राउ परेकाको पनि मोटरसाइकलसहित २ वटा मोटरसाइकललाई पनि प्रहरीमा बुझाइदिएको छ । पक्राउ परेकाको साथबाट भारतको वर्कसपको भिजिटिङ कार्ड पनि भेटिएकोले उनीहरुले चोरीको मोटरसाइकल भारतमा बेच्ने गरेको हुनसक्ने आशंका गरिएको छ।