धरान: धरान चतरा सडक खण्डमा पर्ने धरान १७ स्थित सर्दु खोला चेकपोइन्टमा मोटरसाइकलले प्रहरीलाई ठक्कर दिएर भाग्न खोज्ने लागुऔषधको कारोबारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कोशी गाउँपालिका ६ श्रीपुर जब्दीका १९ बर्षीय देवराम कुमार यादव रहेका छन् । उनको साथबाट ठुलो मात्रामा लागुऔषध पनि वरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार हिजो साँझ ७ बजेर ४० मिनेटमा सर्दु खोला पुलमा चेकपोइन्ट राखिएको थियो । त्यसक्रममा लु ६० प २३४२ नम्बरको मोटरसाइकलले चेकजाँचको क्रममा प्रहरी जवान कृष्णकुमार तामाङलाई ठक्कर दिएर घाइते बनाएको थियो । मोटरसाइकल भाग्न खोज्दा अनियन्त्रित भएर लडेपछि यादव पक्राउ परेका थिए ।

प्रहरीले यादवलाई नियन्त्रणमा लिएर मोटरसाइकल खानतलासी गर्दा लेगार्डमा झुण्डाएकार प्लाष्टिकमा लागुऔषध फेला परेको थियो । प्रहरीका अनुसार डाइलेक्स डिसि १९ बोतल, स्पास्मो प्रोक्सिभन प्लस १४४० क्याप्सुल वरामद भएको छ भने नगद १ हजार ३ सय पनि भेटिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

डिएसपी बस्नेतका अनुसार पक्राउ परेका यादव लागुऔषध कारोबारमा यसअघि पनि पक्राउ परेर जेल गइसकेका व्यक्ति हुन् । उनी पेशेवार कारोबारी भएकोले पुनःजेलबाट छुटे पछि कारोबारमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको पनि डिएसपी बस्नेतले बताए । पेशेवर मान्छे हो । जेलबाट निस्केर फेरि शुरु गरेको रहेछ । धरानमा कस्लाई सप्लाई गर्न खोजेको हो भने र बताउदै बताउदैन, डिएसपी बस्नेतले भने ।