धरान: गए मध्यराती मोरंगको सुन्दर हरैचा नगरपालिका ४ स्थित श्रेष्ठ होटलमा प्रहरी छापा मारेर जुवाडेहरुलाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलबारीका अनुसार मध्यराती छापा मार्दा होटल सञ्चालकसहित एक दर्जन जुवाडेहरु पक्राउ परेका छन् । श्रेष्ठ होटलका सञ्चालक अर्जुन श्रेष्ठसहित पक्राउ परेकाहरुबाट ५३ हजार ७५ रुपैया वरामद भएको प्रहरी निरीक्षक ऋर्षिराज ढकालले जानकारी दिए । उनका अनुसार जुवाडेहरुबाट ३ वटा चेक पनि वरामद भएको थियो । जसमा एउटा १ लाख, अर्को २ लाखको चेक छ भने एउटा ब्ल्यांक(खाली) चेक रहेको पनि ढकालले बताए ।

श्रेष्ठ होटलमा जुवातास खेलाउने गरेको गोप्य सुचनाको आधारमा निरन्तर निगरानी गरेपश्चात हिजो राती छापा मारिएको प्रहरी निरीक्षक ढकालले बताए । पक्राउ पर्नेहरुमा एक जना दुहबीका छन् भने अरु सबै सुन्दरहरैचाकै हुन् । प्रहरीका अनुसार होटल सञ्चालकसहित सुन्दरहरैचाका लोकबहादुर दाहाल, विनोद यादव, दिपेन्द्र पोख्रेल, सिताराम पराजुली, सुवास भण्डारी, शेष प्रसाद अधिकारी, कमल भट्टराई, सञ्जिव गुरुंग, प्रदिप शंकर र दुहबी १२ का फ्रान्सिसी उराउ पक्राउ परेका छन् । उनीहरुलाई बेलबारी प्रहरीको हिरासतमा राखिएको छ । अदालत खुलेपछि म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइने निरीक्षक ढकालले बताए ।