धरान: कोरोना भाइरसको महामारीको कारण यसपालीको चाड दशैं पनि प्रभावित बन्यो । दशैंको दिन पनि संक्रमणबाट मृत्युका खबरहरु आइरहेकै छन् । त्यसैले विगतमा जस्तो रौनक यसपाली दशैंमा छैन ।
यो महामारीकै बीचमा पनि नेपालीहरु देश विदेशमा आफ्ना मान्यजनहरुको हातबाट टीका ग्रहण गरे, र आर्शिवाद पनि लिए । टीका ग्रहणको उपयुक्त समयमा आज बिहान १० बजेर १९ मिनेटमा रहेको थियो । यसपाली पंचाङग निर्णायक समितिले नेपालबाहेक अन्य विभिन्न मुलुकहरुमा रहने नेपालीहरुको लागि पनि टीकाको साइत तय गरिदिएको थियो । आजदेखि पुर्णिमाको दिनसम्म मान्यजनबाट प्रसादकोरुमा टीका ग्रहण गर्ने चलन छ । यसपाली भने विश्वव्यापी बनेको कोरोनाले दशैं मात्र होइन, दैनिक जीवनलाई नै अस्तब्यस्त बनायो । विगतमा दशैंमा हुने व्यापार यसपाली भएन । कोरोना संक्रमणको जोखिम अहिले पनि कायमै भएकोले सामाजिक दुरी कायम गरेर मात्र टीका ग्रहण गर्न आह्वान गरियो ।
दशैंमा मान्यजन आफन्तहरुको घर घरमा पुगेर टीका र आर्शिवाद ग्रहण गर्ने चलन छ । कसैले रातो टीका लगाउछन् भने कसैले सेतो टीका लगाउछन् । टीका नलगाउने नेपालीहरु पनि छन् । यसपाली भने संक्रमण जोखिमकै कारण आफ्नो घरमा मात्र सिमित रहेर टीका लगाउन सरकारले नै आग्रह गर्यो भने अधिकांश नेपालीहरुले पनि घरमा मात्र टीका ग्रहण गरेका छन् ।
दशैंमा पनि थुप्रै नेपालीहरु कोरोना पोजेटिभ रिपोर्ट आएर होम आइसोलेसन र अस्पतालको आइसोलेसनमा छन् । होम आइसोलेसनमा भएकाहरुले पनि टीका ग्रहण गरेका तस्बीरहरु सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । नेपाल रेडक्रस सोसाइटी सुनसरीका पुर्वअध्यक्ष एवं धरानका समाजसेवी वासुदेव गौतमले कोरोना पोजेटिभले पोजेटिभलाई र नेगेटिभले नेगेटिभलाई टीका लगाएको भन्दै फोटो पोष्ट गरेका छन् । तस्बिरहरु: फेसबुकबाट