धरान: साहसिक खेल पर्यटनकर्मी एवं धरान उपमहानगरपालिकाको पर्यटन समिति सदस्य लेखमणी जिमीको निधन भएको छ ।
क्यान्सर रोगसँग जुधिरहेका जिमीको आज बिहान धरानमा निधन भएको हो । २०७४ सालमा स्थानीय तह निर्वाचन पछि तत्कालिन मेयर तारा सुब्बाले जिमीलाई पर्यटन समितिमा नियुक्ती गरेका थिए । धरान र पुर्व क्षेत्रमा साहसिक खेल पर्यटन प्याराग्लाइडिङको विकास तथा विस्तारमा जिमीको महत्वपुर्ण योगदान रहेको छ ।
उनी धरानमा सक्रिय साहसिक खेल पर्यटनसँग सम्बद्ध संस्थाहरु रहेको एक्स्ट्रीम धरानका अध्यक्ष पनि थिए । जिमीले बुढासुब्बा प्याराग्लाइडिङ प्रालिमार्फत धरानमा व्यवसायिकरुपमा प्याराग्लाइडिङ उडान सञ्चालनमा ल्याएका थिए । भुगर्भशास्त्रमा स्नातकोत्तर गरेका जिमी प्रकृति र भुगोलमा असाध्यै रुचि राख्ने गर्थे । उनले ओशिष बोर्डिंग स्कुल पनि सञ्चालन गरेका थिए । जिमीको पार्थिव शरीरलाई आजै चतरामा अन्त्येष्टी गरिने आफन्तजनले जानकारी दिएका छन् ।