धरान: जबरजस्ती करणी गरि फरार सुनसरीका एक व्यक्ति ९ बर्षपछि पक्राउ परेका छन् ।

इटहरी उपमहानगरपालिका ५ का ३६ बर्षीय समुन चौधरीलाई प्रहरीले ९ बर्षपछि पक्राउ गरेको हो । उनलाई सुनसरी जिल्ला अदालतले १० बर्ष कैद सजायको फैसलासमेत गरिसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनले २०६८ मंसिर ५ गते इटहरी ५ स्थित सार्वजनिक बाटोमा २५ बर्षीय महिलालाई डरत्रास देखाएर जबरजस्ती करणी गरेका थिए । साथै, ती महिलाको साथमा भएको ५७ हजार ५ सय रुपैयासमेत लुटेर लगेका थिए ।
सोही घटनाको मुद्दामा चौधरीलाई अदालतले कैद सजायको फैसला सुनाए पनि उनी फरार रहेका थिए । प्रहरीले फरार अभियुक्त चौधरीलाई हिजो इटहरी ५ बाट नै पक्राउ गरि आज जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।

यसैगरि, ९ बर्षकी बालिकालाई प्रलोभनमा पारेर करणी गरि फरार रहेका ५० बर्षीय कुमार भन्ने बुद्दे राईलाई पनि प्रहरीले इटहरीबाट पक्राउ गरेको छ । धनकुटाको महाभारत गाउँपालिका ४ घर भएपनि इटहरी १९ स्थित ससुराली बस्दै आएका राईले यही कार्तिक १३ गते बालिकालाई कारणी गरेको प्रहरीको भनाई छ । उनलाई इटहरी १९ क्षेत्रमा लुकीछिपी हिडीरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालतबाट म्याद थप गरि आवश्यक कानुनी प्रक्रिया पनि शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।