धरान: चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत दशैं अवधिभर सुनसरी जिल्लामा १२५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार यो तथ्यांक दशैं अवधिभर कार्तिक १ गतेदेखि १५ गतेसम्मको हो । दशैं अवधिमा अनावश्यक जमघट गरि सार्वजनिक शान्ति सुरक्षा भंग गर्ने तथा अभद्र व्यवहार गर्नेहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका १२५ जना मध्ये ८ जनालाई मुद्दा चलाइएको छ भने ११७ जनालाई कागज गरि सम्झाई बुझाई छोडिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । सुनसरीका एसपी कमल थापाका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीले १९ जना नियन्त्रणमा लिएको थियो । ती मध्ये १ जनालाई मुद्दा चलाइएको र १८ जनालाई कागज गरि छोडिएको थियो ।

यस्तै, इलाका प्रहरी कार्यालय धरानले ४० जना नियन्त्रणमा लिएको थियो । ती मध्ये १ जनालाई मुद्दा चलाएको र ३९ जनालाई कागज गरेर छोडको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पकलीले ३७ जनालाई नियन्त्रणमा लिएकोमा सबैलाई नै सम्झाई बुझाई कागज गरेर छोडिएको थियो । ईलाका प्रहरी कार्यालय इटहरीले १२ जना नियन्त्रणमा लिएकोमा ३ जनालाई मुद्दा चलाएको र ९ जनालाई कागज गरेर छोडिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यस्तै, जिल्ला भरि राजमार्गमा तथा भित्री सडकमा आकस्मिकरुपमा गरिएको चेकजाँचको क्रममा ६ हजार १ सय ३९ वटालाई चेकजाच गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । विजयादशमीलाई लक्षित गरेर जारी सुरक्षा योजनाले दशैंमा सामान्य सडक दुर्घटनाबाहेक अन्य अप्रिय घटनाहरु नभएको एसपी कमल थापाले बताए । ‘मुख्य उपलब्धी भनेको दशैं अवधिमा सामान्य दुर्घटना बाहेक अरु कुनै अप्रिय घटनाहरु हुन पाएन,’उनले भने ।

२० लाख बढी राजश्व संकलन

सुनसरी जिल्लामा दशैंको अवधिभर सवारीसाधन चेकजाँच गर्दा २० लाख बढी राजश्व संकलन भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार २० लाख २८ हजार राजश्व संकलन भएको छ । प्रहरीका अनुसार सबैभन्दा बढी इलाका प्रहरी कार्यालय धरानबाट १३ लाख ९३ हजार राजश्व संकलन भएको छ भने जिल्ला प्रहरी कार्यालय सुनसरीले १ लाख ३० हजार ५ सय रुपैया राजश्व संकलन गरेको छ ।

यस्तै, इलाका प्रहरी कार्यालय दुहबीले २ लाख ६ हजार ५ सय, इलाका प्रहरी कार्यालय इटहरीबाट १ लाख ४३ हजार ५ सय, इलाका प्रहरी कार्यालय पकलीबाट १ लाख १२ हजार र इलाका प्रहरी कार्याल्य महेन्द्रनगरबाट ४२ हजार ५ सय रुपैया राजश्व संकलन भएको छ । यस्तै, जिल्लाभरि अवैधरुपमा चिनी, सुर्ती, खाद्यान्न, लत्ताकपडालगायत नियन्त्रणमा लिएर ५ लाख ७२ हजार ८५ रुपैया बराबरको भन्सार कार्यालयमा बुझाएको पनि प्रहरीले जनाएको छ ।