धरान: धरानको वडा नं १५ स्थित श्याम चोकमा एक व्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन् ।
हिजो मंगलबार राती करिब ९ बजेतिर डेरा कोठामा झुण्डिएर बिक्रम भण्डारीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । मोरङ बेलबारी घर भएका भण्डारी श्रीमतिसँगै डेरामा बस्ने गरेका थिए । उनी झुण्डिएको अवस्थामा देखेपछि प्रहरीसहित स्थानीयले तत्काल निकालेर वीपी प्रतिष्ठान लगेपछि अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । ‘शरीर तातो नै भएकोले ज्यान बचाउन सकिन्छ कि भनेर अस्पताल लैजादा मृत्यु भएको थियो,’उनले भने ।
मृतक भण्डारीले वर्कसप सञ्चालन गरेर बसेका थिए । श्रीमतिसँग उनको झगडा भइरहने गरेको बताइएको छ । मृतकको आफन्तहरु धरान आएका छन्, र उनीहरुले भने आत्महत्या नभै हत्या भएको आशंका गरिरहेका छन् । प्रहरी निरीक्षक ओलीले भने घटनाको सर्जमिन मुचुल्का भइरहेको र सबै कोणबाट अनुसन्धान गरिने बताए ।