धरान: राम्रो पैसा पाइने प्रलोभनमा मोरङका ३ जना युवतीलाई भारत लैजान लागेका ४ जना व्यक्तिहरु सुनसरीको इनरुवाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्ने ४ जनामध्ये २ जना भारतीय छन् । प्रहरीले इनरुवा नगरपालिका ८ का २८ बर्षीय सचिन मेहता र विराटनगर १७ का २४ बर्षीय बरुणकुमार मण्डललाई पक्राउ गरेको हो भने भारतको विहार राज्यको अररिया जिल्ला चहटपुर ग्राम पञ्चायत ७ का ३७ बर्षीय दिलिप साह र ३५ बर्षीय दिलिप यादव रहेका छन् । उनीहरुले भारतमा महिनाको ६० हजारसम्म पैसा हुने राम्रो काम पाइन्छ भन्ने प्रलोभनमा पारेर बेलबारीका २ जना र विराटनगर १७ का १ जना युवतीलाई भारत लैजान लागेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार तीन जना युवतीहरुलाई सोमबार इनरुवा टेम्पो स्टेशनमा बोलाएका थिए । उनीहरु राती मिनि हाई वे होटलमा बास बसेका थिए भने भोलीपल्ट मंगलबार भारत जान गाडीमा विराटनगरतर्फ जादै गरेका थिए । सोही क्रममा गढी गाउँपालिकाको औरावनीको भमरी चोकमा जिल्ला प्रहरी कार्यालयको टोलीले चेकजाँच गर्दा शंकास्पद देखिए पछि आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो । अनुसन्धान पश्चात युवतीहरु ओसारपसारमा संलग्न देखिए पछि चारै जनालाई मुलुकी अपराध संहिता २०७४ वमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।