धरान: मोरङमा भएको मोटरसाइकल दुर्घटनामा आज दिउँसो एक जनाले ज्यान गुमाएका छन् ।

इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सुन्दरहरैचा नगरपाकिला ८ स्थित पुर्वपश्चिम लोकमार्गमा ट्याक्टरमा ठक्कार दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो । राजमार्गमा पुर्वबाट पश्चिम आएर उत्तरतर्फ मोडिदै गरेको को ३ त १३ नम्बरको ट्याक्टरलाई विपरीत दिशाबाट आइरहेको को १६ प ४८९ नम्बरको मोटरसाइकलले ठक्कार दिएको थियो ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक ६१ बर्षीय चन्द्र कार्की गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा दिउँसो ३ बजेर २० मिनेटमा मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।मोटरसाइकलको पछाडि सवार ग्रामथान ७ का ४२ बर्षीय नन्दकिशोर मिश्र सामान्य घाइते छन् । उनलाई पनि उपचारको लागि न्युरो अस्पताल पठाइएको थियो । ट्याक्टर चालक सुन्दरहरैचा ८ का २६ बर्षीय अशोक खवास इलाका प्रहरी कार्यालय विराटचोकको नियन्त्रणमा रहेको छ ।

यस्तै, विराटनगर महानगरपालिका ३ स्थित कोशी लोकमार्गमा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिदा एक जना गम्भीर घाइते भएका छन् । ट्राफिक प्रहरीका अनुसार प्र १-०२-०४० प ४४२४ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेको साइकल यात्री ५० बर्षीय वीरबहादुर भुजेललाई ठक्कर दिएको थियो । ठक्करबाट भुजेल सामान्य घाइते छन् । मोटरसाइकल पछाडि सवार बुढीगंगा १ की २३ बर्षीया आकृति पोखरेल गम्भीर घाइते भएकी छिन् । घाइते दुवैको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने मोटरसाइकल चालक बुढीगंगा १ का २५ बर्षीय गायत्री पोखरेल प्रहरी नियन्त्रणमा छन् ।

यसैगरि, गौरादह नगरपालिका २ स्थित उत्तर दक्षिण भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको मे ९ प ४७५३ नम्बरको नम्बरको मोटरसाइकललाई सोही दिसामा आउदै गरेको को १ व २१४३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । उक्त दुर्घटनामा ४७५३ नम्बरको मोटरसाइकल चालक ५० बर्षीय शान्तिराज कोइराला सामान्य घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भएको प्रहरीले जनाएको छ । यस्तै, प्रहरी जवान प्रकाश भुजेल सामान्य घाइते भएका छन् ।