धरान: भारतीय लहरीले अटोलाई ठक्कर दिदा विराटनगरमा एक जनाको मृत्यु भएको छ भने अटो चालकसहित २ जना जना गम्भीर घाइते भएका छन् ।

इटहरीस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार दिउँसो ४ बजेर १० मिनेटमा एनएल ०२ एन ४४८७ नम्बरको लहरीले विारटनगर ३ स्थित औषधी विभाग अघिको कोशी लोकमार्गमा को २ ह २८१२ नम्बरको अटोलाई ठक्कर दिएको थियो । उक्त सवारी दुर्घटनामा अटो चालक विराटनगर १३ का ४५ बर्षीय वीरबहादुर श्रेष्ठ र अटोमा सवार २ जना महिला गम्भीर घाइते भएका थिए । घाइतेहरुलाई उपचारको लागि प्रहरीले नोबेल अस्पताल पठाएको थियो ।

उपचारको क्रममा करिब ४५ बर्षीय एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले लहरी चालक भारत मजपपुरका २४ बर्षीय देवेन्द्र सहनी र सहचालक २९ बर्षीय मिथुन कुमारलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।

सुनसरीमा जेसिबिको ठक्करले २ जना गम्भीर घाइते

यसैगरि, सुनसरीको रामधुनी नगरपालिका ६ कान्छी चोक चतरा सडकखण्डमा जेसिबिले मोटरसाइकललाई ठक्कर दिदा २ जना गम्भीर घाइते भएका छन् । ट्राफिक प्रहरीका अनुसार को २३ प ६९६१ नम्बरको मोटरसाइकललाई लु १ क ९५२ नम्बरको जेसिबिले ठक्कर दिएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक बराहक्षेत्र ४ का ६५ बर्षीय जोगेन्द्र ठाकुर र पछाडि सवार २८ बर्षीय अदित ठाकुर दुवै गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीले जेसिबि चालक सर्लाही बरथवा ३ का २६ बर्षीय जयराम महतोलाई इलाका प्रहरी कार्याल्य पकलीले नियन्त्रणमा लिएको छ ।