धरान: धरान १५ बगरकोटस्थित सेउती खोला पुलमा गए राती सवारी चेकजाँचको लागि रोक्न खोज्दा एक स्कुटरले प्रहरी हवल्दारलाई नै ठक्कर दिएर घाइते बनाएको छ ।

राती पौने ११ बजे पुर्वबाट पश्चिम आइरहेको को २५ प ३८११ नम्बरको स्कुटरलाई गस्ती टोलीले रोक्न खोज्दा हवल्दार नारायण कटुवाललाई नै ठक्कर दिएको थियो । ठक्करबाट कटुवालको दुवै हात र घुँडामा चोट लागेको छ । उनलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ भने स्कुटर चालक र पछाडि सवार दुवै पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्कुटर चालक धरान १५ की २१ बर्षीया युसिना राई हुन् भने पछाडि सवार धरान १० की २४ बर्षीया मेघा गुरुंग हुन् । उनीहरुको पनि प्रतिष्ठानमा उपचार भइरहेको छ भने स्कुटर इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार प्रहरी हवल्दार हिजो राती नै डिस्चार्ज भइसकेका छन् । स्कुटर चालक पनि सामान्य घाइते भएकी थिइन् । उनी पनि डिस्चार्ज भइसकेको डिएसपी बस्नेतले बताए । लाइसेन्स विना स्कुटर चलाएको पाइएकोले आवश्यक कानुनी कारबाही हुने उनको भनाई छ । 'चेकजाँचको लागि रोक्न रोज्दा ठक्कर दिएको थियो । आवश्यक कारबाही हुन्छ,'डिएसपी बस्नेतले भने ।