झापा: कोरोना संक्रमणबाट झापामा एक महिला स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।
झापाको शिवसताक्षी नगरपालिका ६ की २५ वर्षीया ल्याब टेक्निसियन युवतीको आज बिहान मृत्यु भएको हो । उनको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । मृतकलाई रुघा खोकी र ज्वरोको समस्या भएपछि उपचारको लागि एक साताअघि नोबेल पठाइएको थियो । पिसिआर परिक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको बताइएको छ । मृतक दुधेस्थित एक निजी स्वास्थ्य संस्थामा कार्यरत थिइन् ।