धरान: धरानको वडा नं २० स्थित सालबोटेको पहिरो धरान उपमहानगरपालिकाको लागि टकाउको दुखाई बनिरहेको छ । यो पहिरोले वडा २० को सालबोटे डाँडा मात्र होइन, सर्दु खोला थुनिएर वडा नं १३ तर्फको मावन वस्तीलाई नै जुनसुकै बेला क्षति पुर्याउने खतरा छ ।

सालबोटे पहिरो बर्षेनी बढ्दै गएपछि उपमहानगरपालिकाको आग्रहमा राष्ट्रपति चुरे संरक्षण विकास समितिले संरक्षणको लागि डिपिआर(विस्तृत अध्ययन प्रतिवेदन) बनाउने भएको छ । यसको लागि राष्ट्रपति चुरे संरक्षणको केन्द्रीय कार्यालयले विज्ञहरुसहितको टोली अध्ययन गर्न धरान पठाएको थियो । पहिरो विज्ञ, भुगर्भविद्, जिआइएस विज्ञको टोलीले हिजो आइतबार दिनभर पहिरो क्षेत्रको अध्ययन गरेको थियो ।

धरान उपमहानगरपालिकाका इञ्जिनियर सुरज श्रेष्ठका अनुसार उपमहानगरको क्षमताले नभ्याउने भएपछि अनुरोध गरिएको थियो । ‘हाम्रो क्षमताले नभ्याए पछि अनुरोध गरेको थियौं । पहिरो विज्ञ, भुगर्भ विद र जिआइएस एक्स्पोर्ट आएर दिनभर नै अध्ययन गरेर गइसक्नुभयो,’श्रेष्ठले भने,‘पहिरोलाई कसरी दीर्घकालिनरुपमा नियन्त्रण गर्ने, त्यसको लागि के के गर्ने, समाधान के हुन्छ भनेर उहाँहरुले रिपोर्ट दिनुहुन्छ ।’ उनका अनुसार मोरङको सलकपुरस्थित राष्ट्रपति चुरे संरक्षण कार्यालयले यो बर्ष सालबोटे पहिरो नियन्त्रणको लागि १ करोड बजेट विनियोजन गरेको छ । डिपिआरको लागि केन्द्रीय कार्यालयले अलग्गै खर्च गर्ने पनि श्रेष्ठले बताए ।

pahiro1

साविक विष्णुपादुकामा पर्ने वडा २० को सालबोटेमा हरेक बर्ष बर्षातको बेला पहिरो झरिरहन्छ । जसले गर्दा सर्दु खोला थुनिएर वडा नं १३ तर्फ मोडिन्छ । पहिरो गइरहने क्षेत्रदेखि केही तल वडा नं १३ तर्फ देवी मार्ग बस्ती छ भने पहिरोको अगाडिपट्टी वडा १३ तर्फ भारतीय पेन्सन पेइङ कार्यालय, संघीय प्रहरी इकाई कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालयलगायत छन् । अहिलेसम्म वडा र नगरको बजेटले स्परहरु बनाएर वडा नं १३ तर्फ ठुलो क्षति हुनबाट जोगिदै आएको छ ।

pahiro3

धरानका वातावरण निरीक्षक राजु चौहानका अनुसार पोहोर वडा नं १३ तर्फ चेक ड्याम स्परहरु निर्माण गरेकोले बर्षाको बेला धेरै क्षति हुन पाएन । यद्यपी ठाउँ ठाउँमा स्परहरु भत्किएको छ । ती भत्किएका चेक ड्यामहरुलाई पनि मर्मत गर्नुपर्ने उनले बताए । 'डिपिआर बनेपछि कहाँ के गर्ने, कसरी संरक्षण गर्ने भनेर प्रष्ट हुन्छ,'चौहानले भने । विज्ञ टोली अध्ययनमा आउदा स्थलगतरुपमा धरानका मेयर तिलक राई, वडा नं १३ का अध्यक्ष नेत्र काफ्ले पनि पहिरोस्थलमा गएका थिए । अध्यक्ष काफ्लेका अनुसार मेयरसहितको टोली भारतीय पेन्सन पेइङ कार्यालयमा पनि गएको थियो । पेन्सन कार्यालयका मेजरले पहिरो नियन्त्रणमा सहयोग गर्ने बताएका थिए । ‘यो पहिरोले वस्तीलाई नै जोखिममा पारेको छ, बेलामा नै स्पर नलगाएको भए देवीमार्ग वस्तीलाई क्षति पुग्थ्यो,’अध्यक्ष काफ्लेले भने,‘यो पहिरोलाई समयमा नै नियन्त्रण गर्न जरुरी छ ।’  तस्बिरहरु: राजु चौहानpahiro2