धरान: कोभिड १९ को कारण रक्तदान कार्यक्रमहरु नहुदा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको रक्तसञ्चार केन्द्र(ब्लड बैंक)मा रगत अभाव भएको छ ।
रेडक्रस सोसाइटी सुनसरीले प्रतिष्ठान हाताभित्र ब्लड बैंक सञ्चालन गरेको छ, त्यहाँबाट प्रतिष्ठानमा उपचारमा आएका विरामीहरुलाई आवश्यक रगत उपलब्ध हुन्छ । हिजो आज भने कोभिडको कारण रक्तदान कार्यक्रमहरु हुन छोडेपछि रगत सकिएको ब्लड बैंकका इञ्चार्ज सुवासचन्द्र सिंहले जानकारी दिए । ‘कोभिडको कारणले गर्दा रक्तदान कार्यक्रमहरु भएको छैन, त्यसैले रगत संकलन हुन छोड्यो, र हामीकहाँ रगत नै छैन,’उनले भने,‘विरामीहरुलाई धेरै समस्या भइरहेको छ, कसैले दाता मान्छे ल्यायो भने मात्र रिप्लेसमा रगत दिने काम भइरहेको छ ।’
रगत नपाउदा गाइनो, मुटुका अप्रेशन, डाइलाइसिस र इर्मजेन्सीमा आएका विरामीहरुलाई धेरै समस्या भइरहेको पनि ब्लड बैंकले जनाएको छ । समयमा रगत उपलब्ध नहुदा उपचार नै प्रभावित हुने र ज्यान गुमाउने खतरा पनि बढेको छ । त्यसैले रक्तदान कार्यक्रम गरेर रगत संकलन गर्न ब्लड बैंकका इञ्चार्ज सिंहले विभिन्न संघसंस्थाहरुलाई आह्वान गरेका छन् । विरामीहरुलाई एकदमै समस्या भइरहेको छ, हामीसँग रगत नै छैन । त्यसैले रक्तदान कार्यक्रम गर्न संघसंस्थाहरुलाई म आह्वान गर्छु, उनले भने ।