धरान: धरान १९,चौकीबारी निवासी केवलबहादुर सेरेङ लिम्बु र श्रीमति आइतीमाया सेरेङ लिम्बु तथा परिवारले एचआइची संक्रमित तथा प्रभावित एकल महिलाहरुलाई खाद्यान्न वितरण गरेका छन् भने बालबालिकाको शिक्षाको लागि नगद सहयोग गरेका छन् ।
सेरेङ परिवारले खाद्यान्न र अक्षय कोषको लागि कुल ५० हजार बराबरको सहयोग गरेको हो । त्यसमध्ये २५ हजार बराबरको खाद्यान्न सहयोग गरेको सेरेङ परिवारले जनाएको छ । साथै, २५ हजार एचआइभी संक्रमित तथा प्रभावित बालबालिकाहरुको शिक्षाको लागि स्थापित हातेमालो अक्षय कोषलाई सहयोग गरेको केवल बहादुर सेरेङ लिम्बुले जानकारी दिए । उनका अनुसार यो सहयोग आफ्नी श्रीमति आइतीमाया, छोरा बुहारी, छोरी ज्वाई तथा नाती, नातिनाहरुको तर्फबाट हो ।
आज बिहान धरान पोजेटिभ समुहको कार्यालयमा एकल महिलाहरुलाई खाद्यान्न वितरण गरिएको थियो । सञ्चारकर्मी विकास चाम्लिङका अनुसार १० जना संक्रमित एक महिला र १५ जना प्रभावित एकल महिलाहरुलाई खाद्यान्न वितरण गरिएको हो । उनीहरुलाई १५ केजी चालम, १ केजी न्युटेला, १ केजी नुन, तेल, दाल र मटर वितरण गरिएको थियो। खाद्यान्न वितरण कार्यक्रममा अग्रज पत्रकार जनकऋषि चाम्लिङ, दाता परिवारका कान्छी छोरी रोमकुमारी लिम्बु, धरान पोजेटिभ समुहका अध्यक्ष खगेन्द्र खड्का, उपाध्यक्ष आलोक गुरुङ, पत्रकार सञ्जय याक्खालगायतको उपस्थिति रहेको थियो ।यसैगरि, धरान १९ चौकीबारीस्थित सेरेङ परिवारको घरमा नै दाता केवल बहादुर सेरेङ लिम्बुले धरान पोजेटिभ समुहका अध्यक्ष खगेन्द्र खड्कालाई अक्षय कोषको लागि नगद २५ हजार वितरण गरेका थिए ।
समुहका अध्यक्ष खड्काले यसपटक गरि लकडाउन अवधिमा मात्र चौथो पटक खाद्यान्न विरतण कार्यक्रम गरिएको बताए । धरानमा सहयोग तथा मनकारी व्यक्तिहरुका बसोबास गर्छन् भन्ने पनि प्रमाणित भएको भन्दै उनले सहयोगी दाताहरुलाई धन्यवाद पनि दिएका थिए । अध्यक्ष खड्काका अनुसार २०७२ सालमा धरान रन नेवा च्यारिटी कार्यक्रमबाट एचआईभी संक्रमित तथा प्रभावित बालबालिकाहरुको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले हातेमालो कोष शुरुवात गरिएको थियो । आज थप भएको २५ हजार सहित कोषमा ६ लाख ८ हजार जम्मा भइसकेको पनि उनले बताए । ‘हामीले १२ पटक शैक्षिक सामग्री वितरण कार्यक्रम गरिसकेका छौं, कोषको ब्याजमा अन्य दाताको पनि रकम थप गरेर विरतण गछौं,’उनले भने,‘यसपाली कोभिडले गर्दा शैक्षिक सामग्री भन्दा पनि खाद्यान्न नै वितरण गर्यौं । फेरि शैक्षिक सामग्री नै वितरण गछौं ।’