धरान: आवश्यक पर्दा तत्काल सेवा दिने उद्देश्यले धरानको वडा नं १६ ले ल्याएको अक्सिजन सिलिण्डर वडाका विपन्न ज्येष्ठ नागरिकहरुको उपचार सेवामा उपयोग गर्न थालिएको छ ।

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई गाह्रो हुँदा अस्पतालमा तत्काल बेड नपाउने अवस्था बनेपछि वडा नं १६ ले १० वटा सिलिण्डर खरीद गरेको थियो । कोरोना संक्रमित नभए पनि अत्यावश्यक देखिएकोले आज बिहिबार वडा कार्यालयले सुर्य टोलकी एक वृद्धालाई एउटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । वडा सदस्य सुरेश श्रेष्ठका अनुसार कोरोना संक्रमितलाई लक्षित गरेर अक्सिजन सिलिण्डर ल्याएको भएपनि आवश्यकता परेको हुनाले निम्न आर्थिक अवस्थाकी वृद्धा गंगामाया तामांगलाई सिलिण्डर उपलब्ध गराइएको हो ।

वृद्धा तामांगलाई सास बढ्ने दमको समस्या रहेको छ । उनले अस्थालिन र यसअघि सानो साइजको सिलिण्डर पनि ऋणपान गरेर प्रयोग गर्दै आएकी थिइन् । वडा कार्यालयले सिलिण्डर ल्याएको थाह पाएपछि स्थानीयले गंगामायाको बारेमा जानकारी गराएपछि वडाअध्यक्ष दिलकुमार गिरी अवस्थाबारे बुझ्न गएका थिए । ‘ऋणपान गरेर सानो सिलिण्डर प्रयोग गरेको रहेछ । निम्न आर्थिक अवस्था भएको र संक्रमित नभए पनि उहाँलाई अक्सिजन सिलिण्डर अतिआवश्यक भएको देखिएकोले अध्यक्षले नै दिनुपर्छ भन्नु भयो, र आज एउटा सिलिण्डर उपलब्ध गरायौं,’श्रेष्ठले भने ।

वडा कार्यालयले निःशुल्क सिलिण्डर उपलब्ध गराएको हो । फारम भरेर स्थानीय ३ जनाको जिम्मामा वडा कार्यालयले सिलिण्डर उपलब्ध गराएको हो । ‘आवश्यक नपर्ने भयो भने सिलिण्डर फिर्ता गर्नुपर्छ । उहाँलाई नै चाहिने भयो, र अक्सिजन सकियो भने फेरि वडा कार्यालयले नै भरेर उपलब्ध गराउछ,’वडा सदस्य श्रेष्ठले भने । वडा नं १६ ले जोडो याममा निमोनियाबाट जोगाउन ७० बर्ष माथिका ज्येष्ठ नागकिरहरुलाई भ्याक्सिन दिने पनि निर्णय गरेको जनाएको छ ।