धरान: जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न अवधिमा नियन्त्रण वरामद गरेको लागुऔषधहरुलाई नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार सम्मेलन गर्दै ७ महिना यता नियन्त्रणमा लिएको लागुऔषधको विवरण पनि सार्वजनिक गर्दै नष्ट गरेको हो । लागुऔषधसँगै घरेलु मदिरा र पटकाहरु पनि प्रहरीले नष्ट गरेको छ । प्रहरीका अनुसार बैशाख २४ गतेदेखि कार्तिक ७ गतेसम्म ५८० एम्पुल नोफिन, ८२९ एम्पुल डाइजेल्याब, ८२० एम्पुल फेनारागन वरामद भएको जनाएको छ । यस्तै, १७४८ बोतल डाइलेक्स डि.सि., ११ एम्पुल एभिल, ११३ एम्पुल लुपिजेसिक र ३१२ ग्राम ८ सय मिलिग्राम खैरो हेरोइन पनि वरामद भएको जनाएको छ ।
यस्तै, ११३७७ क्याप्सुल स्पास्मोप्रोक्सिभन, ३३२७ नाइट्राभेट ट्याब्लेट, गाँजा ३२ केजी ५ सय ग्राम, ब्राउन सुगर ७० ग्राम ५८८ मिलिग्राम, ट्रोमाडोल, लिजेसिक, फेन्सिडल र नाइट्रोसन पनि वरामद भएको एसपी कमल थापाले जानकारी दिए । यो अवधिमा ९३ जना पक्राउ परेको र ६० जनालाई मुद्दा चलाएको पनि एसपी थापाले बताए ।
जिल्ला प्रहरीका अनुसार गाँजा फडानी अभियानअन्तर्गत कार्तिक २१ गतेबाट जिल्लाका सबै युनिटहरुबाट सप्ताहव्यापीरुपमा फडानी गरिएको थियो । त्यस अवधिमा १५ हजार ५ सय २९ बोट गाँजा फडानी गरिएको पनि एसपी थापाले जानकारी दिए । जिल्लाको विभिन्न स्थानमा १ हजार ४२ लिटर घरेलु मदिरा पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यसैगरि, सुनसरी प्रहरीले अदालतबाट भएको मुद्दाको फैसलालाई साउनमा ४ जनाको मुद्दा फैसला कार्यान्वयन भएको पनि जानकारी दिएको छ । ती मध्ये ३ जनालाई फौजदारी र १ जनाको देवानी मुद्दा रहेको छ । भदौ, असोज र कार्तिकमा एक एक फौजदारी मुद्दाको फैसला कार्यान्वयन गरिएको प्रहरीको भनाई छ । चालु आर्थिक बर्षमा बिष्फोटक पदार्थ मुद्दा २ वटा दर्ता गरिएको पनि प्रहरीले जनाएको छ । सात जना पक्राउ परेको र ९५ बण्डल खोर्सानी पटका वरामद भएको पनि प्रहरीले जनाएको छ । यस्तै, कार्तिकमा मेड इन इण्डिया पेस्तोल लेखेको हतियार १ थान, गोली २ राउण्ड र टुमासिंह यादवलाई पक्राउ गरेको पनि जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।