धरान: हिजो बिहान धरान ६ पानवारी सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा भेटिएको व्यक्तिको अझै पनि सनाखत हुन सकेको छैन ।

ईलाका प्रहरी कार्यालय धरानका अनुसार मृतकको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मर्चरीमा राखिएको छ । शव झण्डै २ सातादेखि नै जंगलमा भएको हुनाले कुहिएको र चिन्न नसक्ने अवस्थामा भेटिएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार ५० बर्षको हाराहारीका पुरुषको शव भेटिएको हो । शवको नजिकै मेटासिटको बोतल पनि भेटिएकोले बिष सेवन गरेर आत्महत्या गरेको आशंका गरिएको छ । ‘शवको नजिकै मेटासिटको बोतल छ । प्लाष्टिक पनि भएकोले बोतल बेरेर ल्याएको हुनसक्छ,’डिएसपी बस्नेतले भने,‘शव कुहिसकेकोले कपडाबाहेक अन्य हुलिया भएन । अहिलेसम्म मान्छे हराएको भन्ने कतैबाट आएको छैन ।’

dead1

मृतकले ब्रिटिश आर्मीको कब्याक्ट लगाएको छ भने खरानी रंगको पेन्ट र भेष्ट लगाएको छ । यस्तै, कालो फिता भएको चप्पल पनि लाश नजिकै भेटिएको थियो । मृतकको उचाई ५ फुट ३ इञ्च हाराहरीमा भएको डिएसपी बस्नेतले बताए । यो शव हिजो बिहान धरानको वडा नं ६ पानवारीका बाख्रा गोठालाले सबैभन्दा पहिला देखेका थिए । गोठालाले खबर गएपछि जनप्रतिनिधिहरुसहित शव भएको ठाउँमा गएको वडा अध्यक्ष भुवनसिंह बस्नेतले जानकारी दिए ।

उनका अनुसार शव भएको ठाउँ कोशी लोकमार्गको सेउती पुलदेखि पुर्वतर्फ करिब १ सय मिटरमा पर्छ । उनले पनि बिषको बोतल नजिकै भएकोले बिष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने बताए । ‘बिष सेवनले गर्दा नै हो कि, जनवारले पनि खाएको छैन, किरा पनि उब्जेको छैन, तर लाश कुहिएको छ,’उनले भने ।

chappal