धरान: मोरङमा पटका तथा आतिसबाजी पड्काउने ४१ जनलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हिजो शनिबार जिल्लाको विभिन्न क्षेत्रहरुमा पटका, आतिसबाजीलगायत पटकाजन्य पदार्थ पड्काउने ४१ जनालाई पक्राउ गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता एवं डिएसपी मानबहादुर राईका अनुसार पक्राउ गरिएका सबैलाई आवश्यक अनुसन्धान पछि आफन्तको जिम्मा लगाइएको थियो ।
तिहारको अवसरमा सम्भावित आगजनी तथा अन्य घटना रोकथामको लागि पटका बिक्रीवितरण, ओसारपसार र पड्काउने कार्य निरुत्साहित गर्न सुचना जारी गर्नुका साथै प्रहरी परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ । पडका तथा आतिसबाजीलगायत पड्काएर समाजमा शान्ति सुरक्षामा खलल पुर्याउनेहरुलाई पक्राउ गरिने प्रहरीको भनाई छ । मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी राईले पटका पड्काउने तथा आतिसबाजी गर्ने नगरी शान्ति, सुरक्षा कायम राख्न सहयोगको लागि अनुरोध समेत गरे ।