विराटनगर: लक्ष्मी पूजाको राती हिजो मोरङको विभिन्न ४ ठाउँमा आगलागी भएको छ । आगलागीबाट लाखौंको क्षति भएको प्रहरीले जनाएको छ ।

चार वटै आगलागी भएको स्थानहरुको प्रारम्भिक अनुसन्धान गर्दा दिपावलीको अवसरमा मैनबत्ति तथा दियो बालेर लापरवाहीपुर्वक छोडिएको अवस्थामा आगलागी भएको देखिएको मोरङ प्रहरीका प्रवक्ता एवं डिएसपी मानबहादुर राईले बताए । 'यसकिसिमको दुर्घटनाहरु रोक्न दियो वा मैनबत्ति बालेर लापरवाहीपुर्वक नछाड्न पनि जिल्ला प्रहरी कार्यालय मोरङ हार्दिक अनुरोध गर्दछ,'डिएसपी राईले भने ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हिजो राती करिब साढे ९ बजे विराटनगर १० ट्राफिक चोक नजिकै विजय साहको घरमा रहेको फेन्सी पसलमा आगलागी भएको थियो । उक्त फेन्सी पसल दिनेश अग्रवालको हो । आगलागी हुँदा सटर भित्र रहेको फेन्सी कपडा, फर्निचरको सामान गरि अन्दाजी ६० लाख बराबारको सामान जलेर पुर्णरुपमा क्षति पुगेको मोरङ प्रहरीले जनाएको छ ।

यसैगरि, राती साढे १० बजेर २० मिनेटमा विराटनगर ९ बसपार्क नजिक पनि आगलागी भएको थियो । स्थानीय अभय अर्यालको बारीमा बास र टिनको छाना भएको सिरक डसना बनाउने घरमा आगलागी हुँदा ८ लाख बराबर क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विराटनगर ४ राजवंशी चोककी कमला कोइरालाको बास र टिनको छाना भएको बाख्राको खोरमा पनि आगलागी भएको थियो । उक्त आगलागीबाट खोर जलेर पुर्णरुपमा नष्ट भएको थियो, तर मानवीय र चौपायाको क्षति भने नभएको प्रहरीले जनाएको छ ।

यसैगरि, आज बिहान ४ बजेर १५ मिनेटमा मोरङको बेलाबारी ३ मा पनि आगलागी भएको छ । सार्वजनिक शौचालयको रेखदेख गर्ने राधा मल्लिकको कोठामा दिपावालीमा बालेको दियोबाट आगो सल्केर आगलागी भएको प्रहरीको भनाई छ । आगालागीबाट कोठाभित्र रहेको फर्निचर, टिभी, फ्रिजलगायत गयरि १ लाख बराबरको क्षति पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ ।