धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुने दुवै जना महिला छन् । सुनसरीको बराह ८ की ३८ बर्षीया महिलाको आज बिहान १० बजेर ४५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । मृतकलाई आजै प्रतिष्ठानमा भर्ना गरिएको थियो भने पिसिआर रिपोर्ट पनि उनको आज नै पोजेटिभ आएको डा.श्रेष्ठले जानकारी दिए ।

यस्तै, मृत्यु हुनेमा तेह्रथुमकी २० बर्षीया युवती पनि छिन् । उनको बिहान १ बजेर ५ मिनेटमा मृत्यु भएको सहप्रवक्ता डा.श्रेष्ठले जानकारी दिए । उनलाई ब्लडमा इन्फेक्सन र श्वासप्रश्वासमा समस्या भएकी उनलाई मेसिडिन वार्डमा उपचार भइरहेको थियो । अवस्था गम्भीर भएपछि आइसियुमा उपचाररत उनलाई संक्रमण पुष्टि भएपछि राती नै कोभिड अस्पतालमा सारिएको थियो । लगत्तै उनको निधन भएको हो । प्रतिष्ठानका अनुसार उनलाई हिजो कोरोना पुष्टि भएको थियो । दुवै शवको नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।