विराटनगर: मोरङमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक मध्ये एक जनाको अस्पतालमा र अर्का संक्रमितको घरमा नै मृत्यु भएको हो ।

मृत्यु हुनेमा लेटाङ र रतुवामाई घर भएका कोरोना संक्रमित हुन् । लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको आज बिहान उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मंसिर ९ गते अस्पताल भर्ना गरिएको थियो । अवस्था बिग्रदै गएर गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

यसैगरि, रतुवामाई नगरपालिका–८ का ८० वर्षीय कोरोना संक्रमितको गए राती मृत्यु भएको हो । उनको होम आइसोलेसनमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको गए राती करिब १० बजे घरमा नै मृत्यु भएको हो । उनलाई मंसिर १ गते संक्रमण पुष्टि भएको थियो । उनी मृगौलाको समस्याबाट पीडित थिए ।