विराटनगर: कोरोना संक्रमण भएकी मोरङको रतुवामाई नगरपालिकाकी एक सुत्केरीको निधन भएको छ ।

रतुवामाई नगरपालिका १० की २५ वर्षीया सुत्केरीको नोबेल शिक्षण अस्पतालमा निधन भएको हो । अस्पतालका अनुसार उनको गए राती(बिहिबार) करिब ११ बजे मृत्यु भएको थियो । मृतक युवती १७ दिनको मात्र सुत्केरी हुन् । उनको मृगौलामा समस्या थियो भने विगतदेखि नै उनलाई निमोनियाको पनि समस्या भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । सुत्केरीको अवस्था गम्भीर हुदै गएपछि उनलाई बुधबार नोबेल अस्पताल भर्ना गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालका प्रबन्धक दाहालले बताए ।

मृतकले दमकको आम्दा अस्पतालमा कार्तिक २५ गते शल्यक्रियामार्फत बच्चा जन्माएकी थिइन् । अस्पतालले डिस्चार्ज गरेर घर पठाएको केही दिनपछि श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनलाई परिवारले विराट मेकिडल कलेजमा उपचारको लागि भर्ना गरेका थिए । त्यहाँ उनको पहिलो रिपोर्ट नेगेटिभ आए पछि लगत्तै दोस्रो पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको थियो । आइसियुमा राखेर उपचार पश्चात सुधार भएपछि डिस्चार्ज गरेर होम आइसोलेसनमा बसेकी थिइन् । तर, थप स्वास्थ्य बिग्रदै गएपछि उनलाई नोबेल अस्पताल भर्ना गरिएको थियो ।